arrow

कर्णाली प्रदेशको विजोग : सभाहल नै चुहिन थाल्यो

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
Pradesh-7-Cabinet.jpeg

सुर्खेत । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ ।

अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ। हल चुहिँदा प्रदेशसभा सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्दछ। राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै चुहिने भएपछि सबैलाई लज्जित बनाएको छ। यसो हुनुमा गुणस्तरहीन भवन, नियमित मर्मत सम्भार नहुनु र घर पुराना हुँदै जानु हो भन्छन्, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही ।

शैक्षिक तालीम केन्द्रमा सभाहल बन्ने कार्य तीव्रगतिमा भइरहेको छ। साउण्ड सिस्टमका लागि कोटेशन गर्न सरकारसँग बजेट माग गरिरहेका छौँ, सभामुख शाहीले भने। अब दुई महिनापछि अर्को अधिवेशन शैक्षिक तालीम केन्द्रमा प्रदेशसभाको बैठक बस्ने उनको भनाइ छ।

त्यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बस्ने आवास चुहिँदा अन्तै बसाइँसराइ गर्नुपर्ने बाध्यता आइलागेको छ। बनेका घरहरू गुणस्तरहीन र भूकम्प आउँदा एकै झट्कामा गल्र्यागुर्लुम ढल्ने जोखिम रहेकाले त्रसित मनस्थितिमा बस्नुपरेको कानूनमन्त्री भण्डारीले बताए।

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले पनि मन्त्रालय, आवास सबै चुहिने गरेको बताए। भवनहरू चुहिने मात्र नभई धमिरा पनि त्यत्तिकै लाग्ने गरेको उनको भनाइ छ। मन्त्री खत्रीले भने, “कर्णालीमा सडक, पुल, भवनजस्ता सबै पूर्वाधार गुणस्तरहीन हुँदा समस्या यो प्रदेशभरि नै छ।”

वैकल्पिक सभाहलका रूपमा सञ्चालन भएको प्रदेशसभा स्थानान्तरण हुने भए पनि सरकारी अधिकारी तथा सरकारका मन्त्रीहरुको बसाइ सकसपूर्ण छ। शहरी विकास तथा भवन निर्माण विभागका क्षेत्रीय निर्देशनालय सुर्खेतका निमित्त प्रमुख कमलकुमार दर्लामीले घर पुराना भएको र त्यसको मर्मतसम्भार नभएको जनाए ।

बनेका संरचनाको बेलाबेलामा मर्मतसम्भार नहुनुले राजधानीभित्रै बढी समस्या देखिएको छ। यद्यपि राजधानी वीरेन्द्रनगरका मन्त्रालय जान यही असारको दोस्रो साता कालोपत्रे गरिएका सडकको पिच उप्किसकेको छ। गुणस्तरहीन पिच गर्ने निर्माण व्यवसायीमाथि सम्बन्धित निकायले तत्काल कारबाही गर्न स्थानीयले सुझाएका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ