केपीलाई युवाहरुले सोधे - 'ए सरकार हामी भयौ बेरोजगार,कहिले हुने हाम्रो घरबार ?'
प्रकाशित २०७५ साउन २७ आइतबार
847
Shares
काठमाडौं । सरकारमा पुगेकाहरुको चिल्ला भाषण सुन्दा सुन्दा वाक्क भएकाहरुको भावनालाई सम्बोधन गर्दै मकवानपुरका पत्रकार गिरिजा अधिकारीले लेखेको 'ए सरकार हामी भयौ बेरोजगार,कहिले हुने हाम्रो घरबार ?' गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै यसको चर्चा सुरु भएको छ ।
पछिल्लो समयमा सरकारमा पुगेका नेता तथा स्थानीय तहका नेताले समेत आकाशको तारा खसाल्ने गफ दिएर जनतालाई बेवकुफ बनाएपछि रुस्ट रहेका नागरिकको भावना समेत गीतमा समेटिएको छ ।
मकवानपुरकै लोकप्रिय र चर्चित 'भिमफेदी गाइज' समूहको सामूहिक प्रस्तुति रहेको म्युजिक भिडियोमा एउटा आम नागरिकले बिना भनसुन क्षमता हुदाहुदै पनि कसरी अवसर पाइ रहेको छैन भन्ने कुरा जीवन्त ढंगले प्रस्तुत गरिएको छ।
देशभित्र अवसर नपाएकाहरु कसरी खाडी तथा अन्य मुलुक जान बाध्य छन् भन्ने कुरा देखाइएको म्युजिक भिडियोमा सरकारमा पुगेका राजनीतिक दल तथा तिनका नेताहरुले जनताका नाममा गरिएको ढाटको खेती समेत उजागर गरिएको छ ।
युवाहरुलाई प्रतिनिधिमुलक पात्रको रुपमा प्रस्तुत गरिएको भिडियोमा युवाहरुले आफ्नो भविष्यको बारेमा लिइएको चिन्तालाई दर्शाइएको छ ।
गायक पुष्पन प्रधानको स्वर रहेको गीतमा कर्णप्रिय संगीत भने विकास पाण्डेले दिएका छन् । गीतमा रिकेश गुरुङले संगीत एरेन्ज गरेका छन् ।
निर्मल लामाको निर्देशनमा तयार पारिएको भिडियोमा पवन सुसलिङको उत्कृष्ठ छायाङकन रहेको छ ।