सुशील ज्ञवाली फेरि पुनःनिर्माणको सीईओ नियुक्त, सर्वोच्चको मुद्दा फिर्ता लिने तयारीमा
प्रकाशित २०७५ साउन ३० बुधबार
477
Shares
काठमाडौं । सरकारले सुशील ज्ञवालीलाई फेरि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। मंगलबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नगर विकास कोषको जागिर खाईरहेका ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो। तर, ओली सरकार फुटाई कांग्रेसँग मिलेर बनाएको प्रचण्ड सरकारले कार्यकाल छँदै उनलाई हटाईदिएको थियो ।
२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनःस्थापनाका लागि लागि गठन भएको प्राधिकरणको सीईओ सरकार फेरिपिच्छे फेरिए। सुरुमा योजना आयोगको पूर्व उपाध्यक्ष समेत भईसकेका डा. गोविन्दराज पोखरेल सीईओ थिए। कांग्रेस निकट उनलाई हटाएर ओली सरकारले ज्ञवालीलाई ल्यायो। जुनियर मान्छेलाई सीईओ बनाएर ल्याएको भन्दै सहसचिवहरु नै त्यहाँ जान मानेनन्। जेनतेन काम सम्हालेका ज्ञवालीले प्राधिकरणमा गाडि, कम्युटर लगायत खरिदको सूचना निकाल्दा बदमासी गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओलीले नै कयौँ पटक उनलाई हकारेका थिए ।
भूकम्प पीडितका लागि काम नगरेको लगायत आरोप लगाएर प्रचण्डले सरकार तोडे । कांग्रेसको समर्थनमा माओवादी केन्द्रको सरकार बन्यो ज्ञवाली हटे । फेरि पोखरेलको पुनरागमन भयो ।
प्रदेश र प्रतिनिधि सभाको चुनाव लड्न पोखरेल भूकम्प पीडित विर्सिएर राजनीतिक मैदानमा उत्रिए । तर, चुनावमा सफलता मिलेन। प्राधिकरणमा भने सीईओ फेरिने क्रम चलिरहयो। पछि उनको ठाउँमा पूर्वप्रशासक युवराज भुसाल आए। चुनावले ओलीलाई फेरि सरकारमा ल्यायो। उनले भूसाललाई उछिट्याईदिए । रिक्त रहेको पदमा गोविन्द पोखरेल जस्तै ज्ञवालीको दोस्रो पटक प्रवेश भयो ।
यद्यपि, ज्ञवालीको मुद्दा भने सर्वोच्च अदालतमा अझै विचाराधीन छ। आफूलाई हटाउन प्रचण्ड सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ज्ञवाली सर्वोच्च पुगेका थिए। उनको मुद्दामा अन्तरिम आदेश भने भएन । र, अन्तिम सुनुवाईमा पेश गर्न भनियो।
अहिलेसम्म अन्तिम सुनुवाई भएको छैन। उनैलाई हटाउने प्रचण्ड पनि अहिले सत्ताधारी पार्टीकै शीर्ष नेता छन् । पुनःवहाली गरिपाउँ भनी हालेको मुद्दा सम्भवतः ज्ञवालीले फिर्ता लिने छन्।