ज्ञवाली भन्छन्–आगामी वर्ष पुनःनिर्माणको अभूतपूर्व वर्ष
प्रकाशित २०७५ साउन ३१ बिहिबार
169
Shares
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पुनःनिर्माणको ठोस कार्ययोजना बनाएर पूर्व निर्धारित समयमै पुनःर्निर्माणको काम सम्पन्न गर्ने बताए ।
पदवहाली लगत्तै आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका कामको समीक्षा गरेर नयाँ कार्ययोजनाका साथ अघि बढ्ने बताए ।
पुनःनिर्माणको जग बसाल्ने काममा आफू र कर्मचारीहरु अहोरात्र खटेको स्मरण गर्दै सीईओ ज्ञवालीले विगतका अनुभव र पाठका आधारमा पुनःनिर्माणमा देखा परेका समस्याहरुलाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
स्थानीय तहमार्फत् जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनःनिर्माणको अभूतपूर्व वर्ष बनाउने ज्ञवालीले उदघोष गरे । २०७५ श्रावण २९ गते बसेको मन्त्रिपरिपरिषद्को बैठकले ज्ञवालीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि ज्ञवाली सीईओ थिए । डा. गोविन्दराज पोखरेललाई हटाएर ओली सरकारले ज्ञवालीलाई नियुक्त गरेको थियो ।ओलीपछि बनेको कांग्रेस र तत्कालिन नेकपा माओवादीको सरकारले ज्ञवालीलाई हटाएर डा. गोविन्दराज पोखरेललाई सीईओ बनाएको थियो ।
संघीय संसद्को चुनावमा प्युठानबाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेपछि पोखरेलले राजीनामा दिएका थिए । पोखरेलपछि प्राधिकरणको सीईओमा युवराज भुसाल नियुक्त भएका थिए । तर, दोस्रो पटक बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले भुसाललाई हटाएर प्राधिकरणको सीईओमा फेरि ज्ञवालीलाई नियुक्त गरेको हो ।