कलंकीस्थित भूमिगत बाटो आइतबार देखि अस्थायी रुपमा खुल्ने
प्रकाशित २०७५ भदौ १ शुक्रबार
277
Shares
काठमाडौं। चक्रपथ (रिङरोड) सुधार आयोजना अन्तर्गतको कलंकीस्थित अन्डरपास वे (भूमिगत बाटो) आइतबार देखि मात्र खुल्ने भएको छ। यो भुमिगत बाटो आइतबारबाट अस्थायी रूपमा सञ्चालनमा आउने काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए।
संसदको विकास समितिको बिहीबारको बैठकमा सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले शुक्रबारदेखि खुला हुने बताएपनि अन्तिम समयमा आएर स्थगित भएको हो।
खसीबजारदेखि कलंकी चोक हुदै सीतापाइलासम्म ८ सय मिटरको भुमिगत बाटो शुक्रबार सञ्चालनमा आउने जनाएपनि सञ्चालनका लागि चिनियाँ सरकारको अनुमति चाहिने बताएपछि रोकिएको हो। चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको यो सडक चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको हो।
चार लेनको उक्त अन्डरपास अहिले भने ट्राफिक जाम कम गर्न दुई लेनमात्र भए पनि सञ्चालनमा ल्याउन लागिएको हो। पूर्ण रुपले निर्माण कार्य नसकिएकोले अहिले दुई लेन मात्र भएपनि सञ्चालनमा ल्याउन लागिएको हो।
तीन वर्ष अघि निर्माण थालिएको अन्डरपास वेमा रंगरोगनसँगै लेन छुट्याउने र साइन बोर्ड राख्ने काम बाँकी छ। यो सबै काम पूरा गर्न दुई महिना लाग्ने अनुमान छ। अहिले अन्तिम चरणमा पुगिसकेकोल पूर्ण रुपमा सञ्चालनमा आउन र हस्तान्तरण गर्न भने डिसेम्बर नै कुर्नुपर्ने उनको भनाई छ।
कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत कलंकीमा भुमिगत सडक निर्माण भइरहेको हो। चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त अन्डरपास सञ्चालनमा आएसँगै कलंकीमा हुने घण्टौ जाममा फस्नुपर्ने समस्या हट्नेछ।
अन्डरपास वे छेउका ४ लेनमा सहायक रुटका सवारी चल्ने र अन्डरपासको ४ लेन सडकमा चक्रपथ परिक्रमा गर्ने सवारी गुडाउने तयारी गरिएको छ। सवारी गुडाउनका लागि नेपालमै पहिलो पटक यो भुमिगत बाटो निर्माण गरिएको हो।