arrow

भदौ ४ गते एसियाडमा के गर्यो नेपालले ? सबै खेलको विवरण

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
asiad-taekwondo.JPG

काठमाडौं । इण्डोनेसियामा भइरहेको एसियाली खेलकुद एसियाडमा नेपालले राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । नेपालले पदक जित्ने अवसर गुमाउँदै गइरहेको छ । 

नेपालले सोमबार भदौ ४ गते सोचे अनुसारको प्रदर्शन गर्न सकेन । कुन खेलमा के गर्यो नेपालले ? 

लनटेनिस–मायांका र माहिका प्रिक्वाटरफाइनलमा

१८ औं एसियाली खेलकुदअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रिक्वाटरफाइनलमा उक्त जोडीले जापानसंग मंगलबार खेल्ने छन् ।

पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–१ र ६–१ को सीधा सेटमा हारे ।

ब्याडमिन्टन – क्वाटरफाइनलमै सीमित
ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईंसंग ३–० ले पराजित भयो ।

पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–१४ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–१० र २१–११ को सोझो सेटमा पराजित भए ।

महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ तारिखदेखि सुरु हुनेछ ।

पौडी – गौरिका १८ र टीसा २२ औं स्थानमा
एसियाली खेलकुदको पौडीमा सोमबार दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य दुवैले १ सय मिटर फ्रिस्टायलमा भाग लिएका थिए ।

२७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औं र टीसा २२ औं स्थानमा रहे । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट ००।८२ सेकेन्ड समय खर्चिन् । टीसाले १ मिनेट ०३।९६ सेकेन्डमा दूरी तय गरिन् ।

मंगलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

तेक्वान्दो – सागर क्वाटरफाइनलमा रोकिए
तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागर भियतनामका खेलाडीसंग २५–५ अंकले पराजित भए । 

त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसंग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसंग २०–१७ ले पछि परे ।

मंगलबार ३ खेलाडीले नेपालको चुनौती पस्कने छन् । महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले खेल्नेछन् ।

सुटिङ – नेपालको चुनौती समाप्त
सुटिङमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट एक पुरुष र दुई महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एयर राइफलमा भाग लिएका थिए ।

उक्त स्पर्धा ६ सय ५४ पूर्णाङ्कको थियो । सुशेले ५ सय ८१ को प्रदर्शन गरे । ४४ जना सहभागीमा सुशे ४२ औं स्थानमा रहे ।
त्यस्तै कल्पनाले ५९४।८ र सुस्मिताले ५८७।१ अंक जोडे । ४८ खेलाडी सहभागी यो स्पर्धामा कल्पनाले ४५ औं र सुस्मिताले ४६ औं स्थान हात पारे । दुई राष्ट्रका खेलाडी अनुपस्थित रहे ।

पाराग्लाइडिङ – नेपाल तेश्रो स्थानमा
१८ औं एसियाली खेलकुदअन्तर्गत पाराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् ।

पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन् । यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन् । यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ । ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल पाराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी गराए । यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन् । अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औं स्थानमा छन् ।

उता एक्युरेसीको महिला टिम इभेन्टको दोश्रो चरण समाप्तिमा नेपाल चौथो स्थानमा छ । इन्डोनेसिया पहिलो स्थानमा छ भने दक्षिण कोरिया दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन् । यो इभेन्टमा ९ राष्ट्र सहभागी छन् ।

पुरुष टिम इभेन्टको २ चरण सकिदा नेपाल आठौं स्थानमा छ । यो स्पर्धा पनि इन्डोनेसिया पहिलो स्थानमा छ भने थाइल्यान्ड दोस्रो र चीन तेस्रो स्थानमा छ । यो इभेन्टमा १५ देशबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पाराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा पनि प्रतिस्पर्धा गर्न बाँकी छ । 

उसु – निमा ११ औं
बाह्र खेलाडी सहभागी महिलाको नान् ताउमा नेपालकी निमा घर्ती मगरले ११ औं स्थान हासिल गरेकी छन् । निमाले ९।१७ अंक जोडिन् ।
पुरुष छान् छ्वानमा नेपालका युवराज थापा मगरले ८.२२ अंकसाथ २१ औं स्थान हात पारे । 

२३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सान्सौंतर्फ पुरुष ५६ केजीमा पदम ठकुल्ला लाओसका खेलाडीसंग पराजित भए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ