arrow

रोनाल्डो, सलाह र मोड्रिच युइएफए वर्ष खेलाडीको मनोनयनमा, मेस्सी बाहिरिए

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
cristiano-ronaldo-lionel-messi.jpg

काठमाडौं । इटालियन फुटबल क्लव युभेन्टस (हालै स्पेनिस क्लव रियाल मड्रिडबाट गएका) का क्रिस्टियानो रोनाल्डो स्पेनिश क्लव रियाल मड्रिडका लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । 

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सोमबार सार्वजनिक गरेको २०१७–१८ को सिजनको शीर्ष तीनको मनोनयनमा रियालका दुई खेलाडीले स्थान बनाउँदा लिभरपुलका सलाहले पनि अन्तिम तीनमा स्थान बनाएका हुन् ।

खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन् । 

जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन् ।

बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी भने शीर्ष तीनमा पर्न सकेनन् । रियालले अघिल्लो सिजनको च्याम्पियन्स लिग जितेको थियो । रोनाल्डोले रियालबाट कीर्तिमानी पाँचपटक च्याम्पियन्स लिगको उपाधि तथा लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल भएका थिए । उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।

गोल्डेन बल विजेता मोड्रिचकै कप्तानीमा क्रोएसिया विश्वकप फुटबलको उपविजेता बन्न सफल भएको थियो ।

यता, इजिप्टका सलाहले इंग्लिश प्रिमियर लिगको डेब्यु सिजनमै उच्च प्रदर्शन गर्दा ४४ गोल गर्न सफल भएका थिए । 

विजेता घोषणा च्याम्पियन्स लिगको समूह चरणको विभाजनको दिन अर्थात ३० अगस्टमा मोनाकोमा हुनेछ । सोही दिन नै महिला वर्ष खेलाडी र च्याम्पियन्स लिगका अन्य विधागत विजेताको घोषणा गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ