arrow

 व्यवसायीको मनोमानी, पाल्पामा बजार अनुगमन ठप्प

logo
 रामचन्द्र रायमाझी
प्रकाशित २०७५ भदौ ५ मंगलबार
Palpa_District.png

पाल्पा । घरेलु, जिल्ला प्रशासन, वाणिज्य कार्यालयको क्षेत्रधिकार स्थानीय तहलाई सुम्पिएपछि जिल्लामा बजार अनुगमन ठप्प भएको छ । स्थानीय सरकार आएसँगै जिल्लाका बजार, होटलहरुमा अनुगमन कार्य ठप्प भएको हो । बजार अनुगमन नहुँदा सर्वसाधारण जनता महंगो मूल्यमा सामान किन्न बाध्य भएका छन् ।  

बजार अनुगमन नहुँदा पसलमा विक्रिका लागि राखिएका सामनको मूल्यमा एकरुपता नभएको तानसेनवासीको गुनासो रहेको छ  । अर्कोतर्फ तानसेन र अन्य व्यापारिक क्षेत्रका मासु व्यवसायीले अस्वस्थ तथा उपभोगका लागि अयोग्य मासु खुल्ला रुपमा विक्रि हुँदा समेत अधिकार प्राप्त निकाय मौन बसेको आमसर्वसाधरणको आरोप छ ।

होटल तथा रेष्टुराहरुमा विक्रिका लागि राखिएका खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट बढेको छ । त्यसै गरी होटल व्यवसायीले बासि सडेगलेका खाद्यावस्तु विक्रि गर्न लागेका छन् । 

विगतमा वाणिज्य कार्यालयको आयोजनामा  जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको व्यवस्थापनमा नियमित रुपमा जिल्लाका मूख्य बजार, सदरमुकामहरुका बजार, होटल तथा रेष्टुराहरुमा अनुगमन हुने भए  पनि  स्थानीय  तहमा जनप्रतिनिधि आएपछि अनुगमन कार्य हुन सकेको छैन । 

बजार अनुगमन गर्ने, व्यवसायीलाई करको दायरामा ल्याउने, सफा स्वच्छ उपभोग्य वस्तुको विक्रि गर्न प्रोत्साहित गर्ने, मापदण्ड विपरित कार्य गर्ने व्यवसायीलाई कानुनी कठघरमा उभ्याउने जिम्मेवारी स्थानीय तहमा गएपछि सबै काम ठप्प भएको स्थानीय बासिन्दा बताउँछन् । 

जिल्ला भित्रका मुख्य राजमार्ग तथा सडक किनारका होटलहरुका खाद्य वस्तु मापदण्ड अनुरुप नभएको, बासी सड्ने अवस्थामा पुगेको वस्तु विक्रि भइरहेको माथागढी गाउँपालिका देउगीरका  विवेक गाहाले बताए  ।

 नियमित रुपमा बजार अनुगमन नहुँदा  होटल व्यवसायीको मनोमानी बढ्दै गएको तानसेन भगवती टोलका मनोजकुमार केशीले बताए । बजार अनुगमन नहुँदा होटल, मासु जन्य वस्तुको  विक्रि वितरणमा व्यवसायीको मनोमानि बढ्दै गएको छ । 

समस्या सदरमूकाममा मात्र नभई जिल्लाको दोस्रो मूख्य व्यापरिक र प्रशासनिक केन्द्र रामपुरमा समेत होटल र मासु व्यवसायीले आम उपभोक्ताको स्वास्थ्यमा खेल्वाड गरी व्यवसायी गर्दै आएको रामपुरका स्थानीय बासिन्दा प्रकाश रेग्मीले बताए ।    

बजार अनुगमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय तहहरुले अहिलेसम्म बगनासकाली गाउँपालिकाले स्थानीय बजार क्षेत्रमा चार  महिना अघि  होटल, मासु  पसल, किराना पसलको अनुगमन गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । 

माथागढी गाउँपालिकाको कार्यालयले जनगुनासो आएपछि माथागढीका स्थानीय बजारहरुमा केही समयअघि बजार अनुगमन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । उनले स्थानीय तहलाई जिम्मेवार र अधिकार दिए पनि आवश्यक र विशेषज्ञ कर्मचारी नभएकै कारण बजार अनुगमन हुन नसकेको बताए । 

रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौड्यालले भने बजार अनुगमनको छुट्टै कार्यविधि बनाएर छिट्टै नै  बजार अनुगमन गरिने जानकारी दिए । 

होटल पसल मात्र होइन म्याद नाघेका औषधी गाउँगाउँमा विक्रि भए त्यसको जिम्मेवारी कसले लिने ? सदरमुकामकै पसलहरुमा पेयपदार्थ, प्याकेटका खाजाको म्याद सकिदाँसम्म पनि विक्री हुँदै आएका छन् । त्यसको अनुगमन तथा नियमन गर्ने निकायसमेत मौन रहेको स्थानीय बासिन्दाहरुको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ