arrow

प्रशिक्षकका रुपका काम गर्न पाउँदैनन् कोजी, उनको स्थानमा नयाँ प्रशिक्षकको खोजी

logo
कुमार चौलागार्इं,
प्रकाशित २०७५ भदौ ५ मंगलबार
koji-news.jpeg

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने  भएका छन् ।
 
अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो । प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियन गेम्सको लागि हाल इण्डोनेसियामा छन् । एशियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
 
विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो । अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले पर्यटक प्रवेशाज्ञामा १५० दिन नेपाल बसिसकेको र नियमानुसार श्रम स्वीकृति नलिएकाले कोजीलाई सन् २०१८ भर नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।
 
“खेलकूद मन्त्रालयको पत्र, गृहमन्त्रालयको सिफारिस र काम गर्ने संस्थाको सिफारिससाथ उनले श्रम स्विकृतिका लागि प्रक्रिया गर्नुपर्नेमा गरेनन् , नियमानुसार एक वर्षमा १५० दिन पर्यटन प्रवेशाज्ञामा उनि नेपाल बसिसकेका छन् , २०१८ भर उहाँ नेपाल आउन मिल्दैन” निर्देशक गौतमले भने ।

 विभागका अनुसार पर्यटन प्रवेशाज्ञामा नेपाल बस्ने पर्यटकले वर्षमा १५० दिनमात्र यहाँ बस्न पाउँछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले कोजीलाई नेपालमा काम गर्न कानूनी समस्या रहेको बताउँदै नयाँ प्रशिक्षक चयनका लागि गृहकार्य शुरु गरेको बताए ।

“कोजी नेपाल आउन नपाउने भएपछि अब के गर्ने भन्ने विषयमा हामी आन्तरिक छलफल गरिरहेका छौँ, एक दुई दिनमा यसको किनारा लगाउछौँ” प्रवक्ता राईले भने । “प्रशिक्षक कोजीको स्थानमा साफ च्याम्पीयनसिप कसले हेर्ने र कसलाई ल्याउने भन्ने विषयमा छलफल जारी छ, यसबारे छिट्टै टुङ्गोमा पुग्छौँ”–प्रवक्ता राईको भनाइ थियो ।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको करार अवधि आगामी नोभेम्बरसम्म रहेको छ । नेपालले यसै महिना बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप खेल्दैछ । एन्फाले बङ्गलादेशमा हुने साफ च्याम्पियनसिपसम्मका लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

कोजीलाई अहिले सहायक प्रशिक्षक बालगोपाल महर्जनले सहयोग गर्दै आएका छन् । साफ च्याम्पियनसीको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै साफको शुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ