arrow

४ किलो सुनको व्यापार माया मार्दै चितवनका व्यापारी आन्दोलनमा

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
sun-chadi.jpg

चितवन । आफुहरुले मागे जति सुन नदिएको भन्दै चितवनका सुन व्यवसायीहरुले दुई दिनका लागि व्यापार बन्द गरेका छन् । तीज, दशैं तिहार लगायत सुनको बढी कारोबार हुने समयमा राष्ट्र बैंकले आफुलाई झारा टार्ने हिसाबले सुन दिने गरेको भन्दै चितवनका सुन चाँदी व्यवासायीले विरोध स्वरुप मंगलबार र बुधबार का लागि कारोबार नै बन्द गरेका हुन् ।

 हाल चितवनमा दिनकै  २ किलो  सुनको कारोबार हुने गरेपनि राष्ट्र बैंकले हप्तामा २ किलो मात्रै दिने गरेको, सुनचाँदी व्यवासायी महासंघ चितवनका अध्यक्ष जीवनज्योती सदाशंकरले गुनासो गरे । उपभोक्ताको माग अनुसार कसरी सुनको पूर्ती गरिएको छ भन्नेबारे चाहिँ उनी अनकनाए ।

चितवनमा सुन दिन राष्ट्र बैंकले सिण्डीकेट लगाउँदै अरु जिल्ला भन्दा कम वितरण गर्ने गरेको उनको आरोप छ । चितवनभर व्यापार बन्द गर्दा दैनिक २ किलो सुनको कारोबार रोकिने सदाशंकरको भनाइ छ । चितवनमा सुनको कोटा बढाउन माग गर्दै उनीहरुले आज प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत मार्फत गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव सहित भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई पनि ज्ञापन पत्र बुझाएका छन् ।

यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले भने एउटा जिल्लाले मात्रै बन्द गरेर सरकारलाई दबाव नपुग्ने भन्दै बन्दको बिकल्प खोज्न सुझाब दिएका छन् ।

चितवनका सुन व्यापारीले बुधबार चितवनको टाँडी, पर्सा सहित रामपुर, माडी क्षेत्रका सुन व्यवसायी र कालिगढ सहितको बिरोध र्‍याली निकाल्ने तयारी गरेका छन् । हाल चितवनमा करीब ५ सय सुन व्यवसायी छन् भने ती सुन पसलमा २ हजार बढी कालीगढ र कामदार छन् ।

सुन व्यवासायी महासंघको तथ्यांक अनुसार हाल मुलुकभर दैनिक ३५ किलो सुनको माग छ । राष्ट्र बैंकले भने हाल दैनिक २० किलो सुन उपलब्ध गराउँदै आएकोमा ३० किलोसम्म दिन सकिने आश्वासन दिएको, महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानुराज शाक्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ