रसुवागढी नाका तत्काल सञ्चालन गर्न सांसद आचार्यको माग
प्रकाशित २०७५ भदौ ७ बिहिबार
647
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवागढी नाका तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
संघीय संसदमा बिहिबार विशेष समय लिएर बोल्दै सांसद आचार्यले पासाङ ल्हामु राजमार्ग वर्षात्का कारण बन्द हुँदा जनताले धेरै दुःख पाएको भन्दै तत्काल सूचारु गर्न सरकारसँग माग गरेका हुन् ।
“भूकम्पले हल्लाएको जमिनमा धाँजा फाटेको छ, वर्षाले धाँजामा पानी पस्दा ठूलठूला पहिरो गएको छ, यसका लागि सरकारले विशेष ध्यान दिओस्”–उनले भने । बाटो तथा संरचना निर्माण गर्दा भूगर्भको अध्ययन गरेर निर्माण गर्नुपर्ने उनको भनाई छ ।
सांसद आचार्यले साउन १० गते टिमुरेमा गएको पहिरो र गोसाइकुण्ड तीर्थ गर्न हिँडेका तीर्थयात्रीको निधन भएकोमा दुःख व्यक्त गर्दे उक्त घटनामा परी घाइते भएका जनताको स्वास्थ्यलाभको कामना गरे।
उनले नेपालको एकमात्र चीन जोड्ने नाका एक महिनादेखि अवरुद्ध हुँदा हजारौँ मालवाहक सवारी साधन रोकिँदा सामानहरु कुहिनुका साथै हराउने गरेको भन्दै यसको समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।