- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रत्ननगर । कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्को सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्को बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो ।
अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए । “हात्तीसहितको प्राविधिक टोलीले दुई दिन लगाएर अनुगमन गर्दा बिहीबार दोस्रो अर्ना ब्याएको पाइयो,” गैरेले भने । अझै एउटा गर्भिणी रहेकाले एक महिनाभित्र बच्चा जन्माउने उनको अनुमान छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले पाडो जन्मिएकाले प्रजाति संरक्षणमा ठूलो सफलता मिलेको चर्चा गर्दै खुला खोरमा अझै अर्ना थप्ने योजना रहेको जानकारी दिए ।
खुला खोरमा १० अर्ना रहेकामा एउटा पाडो थपिएपछि ११ पुगेको छ । रोगब्याधी र बाघको आक्रमणलगायत कारणले यसअघि छ अर्ना मरेका थिए ।
सरकारको विसं ०७१ को निर्णयअनुसार विसं ०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो ।
कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पुर्याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्ज विभागको छ ।
उक्त निकुञ्जमा सन् १९६० देखिनै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।