एजेन्सी। टेस्ला कम्पनी पब्लिक कम्पनी नै रहने भएको छ। शुक्रबार कम्पनीका सीईओ इलोन मस्कले कम्पनी आगामी दिनमा पब्लिक कम्पनीको रुपमा यथावत रहने बताएका हुन्। यसअघि टेस्ला निजी कम्पनी बन्नसक्ने समाचारहरु सार्वजनिक भइरहेको अवस्थामा टेस्लाले यस्तो बताएको हो।
अगष्टको सुरुवातमा टेस्ला कम्पनी प्रतिसेयर ४ सय २० अमेरिकी डलरको हिसाबमा निजी कम्पनी बन्नसक्ने योजना आएको थियो। टेस्लाका प्रमुख मस्कले आफ्ना सेयरधनीहरु तथा अन्य केही समस्याहरुको कारण टेस्लाको निजी बन्ने योजना आकर्षक रहन नसकेको बताएका हुन्।
मस्कले आफूले धेरै मानिसहरुबाट सार्वजनिक कम्पनी मै रहनु कम्पनीका लागि उचित रहेको सुझाव पाएको बताए। आफूहरु निजी कम्पनी भएको खण्डमा यसले कम्पनीलाई थप नोक्सानी पुग्नसक्ने देखिएसँगै यो योजनाबाट आफूहरु पछि हटेको मस्कको भनाइ छ। सेयरधनीहरु मर्कामा पर्नसक्ने देखिएसँगै टेस्ला सार्वजनिक कम्पनी नै रहने निर्णयमा पुगेको उनले बताए।
पछिल्लो समय टेस्लाको सेयरमा लगातारको गिरावट आइरहेको कारण कम्पनीले आफ्नो नयाँ योजना अघि सारेको हो। यस वर्षको सुरुवातमा टेस्ला कम्पनी आफ्नो नयाँ उत्पादन मोडल ३ को लक्ष्य प्राप्ति गर्न नसकेका कारण पनि उसको सेयर केही कमजोर बन्दै गएको हो। यद्यपि कम्पनीले पछिल्लो समय भने लक्ष्य प्राप्त गर्न सफल रहेको कप्पनीले निकालेको विवरणमा उल्लेख गरिएको छ।