arrow

सिरियाको अस्पतालमा आक्रमण, ५० जनाको मृत्यु

विश्वका नेताद्वारा निन्दा

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
syrias.jpg.jpeg
बेरुत। सिरियामा केही दिनयतादेखि विश्व समुदायले युद्धविरामको तयारी गरिरहेको समाचार आएका बेला मङ्गलबार पुनः हिंसा भड्किएको छ । सिरियामा मङ्गलबार हवाई आक्रमण भएको छ र त्यसमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । सो आक्रमण सरकारी सेनाले गरेको अधिकारवादीहरुले जनाएका छन् । उनीहरुका अनुसार सिरियाली उत्तरी नगर अलेपो र इदलिबमा सो हमला भएको हो । 
 
हमलामा परी त्यहाँ रहेका कम्तीमा पनि पाँच वटा अस्पतालमा ठूलो क्षति पुगेको छ । सो नगरका दुई वटा विद्यालयमा पनि हवाई आक्रमण गरिएको बताइएको छ । यी आक्रमणहरुबाट त्यहाँ बालबालिका र महिला पनि मारिएका छन् । कतिपय ती अस्पतालमा उपचार गराउदै गरेका बिरामी छन् भने केही विरामी कुरुवा पनि परेका छन् । मारिनेमा सबैजसो सर्वसाधारण नै परेका समाचारमा जनाइएको छ । मङ्गलबार बिहानै भएको भनिएको यस घटनाको विश्वव्यापी रुपमा विरोध गरिएको छ । यस घटनालाई फ्रान्सले युद्धअपराधको संज्ञा दिएको छ । फ्रान्सले सिरियामा जारी हिंसा त छँदैछ त्यसमा पनि मङ्गलबार युद्ध अपराध भएको छ भन्ने प्रतिक्रिया दिएको छ । 
 
संयुक्त राष्ट्रसंघले उक्त आक्रमणमा परी ५० जना मारिएको समाचारको निन्दा गरेको छ । महासचिव बान कि मुनले यस घटनाले विश्व समुदायलाई नै स्तब्ध तुल्याएको जानकारी दिनुभयो । उहाँले यस घटनाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै यस घटनाले सिरियामा गएको पाँचवर्षदेखि जारी रहेको गृहयुद्धलाई नै छायामा पार्ने काम गरेको प्रतिक्रिया दिनुभयो । आक्रमण भएका अस्पतालमध्येको एउटा च्यारिटीद्वारा सञ्चालित अस्पताल हो । उक्त अस्पताल चिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय संस्था मेडिसिन्स् साँ फ्रन्टयसर्ले सञ्चालन गरेको थियो । 
 
यस आक्रमण सिरियाली सेना र सिरियाली सरकारका समर्थकहरुले गरेका बताइएको छ । तर सिरियाली सरकारले भने त्यसलाई स्वीकारेको छैन । हवाई आक्रमण सिरियामा दिनहूँजसो हुने गरेको छ । तर यो पछिल्लो आक्रमण भने सिरियाली सरकारको अक्षम्य अपराध भएको विश्व समुदायले बताएको छ । सिरियामा पुनः शान्तिवार्ताका लागि आवश्यक तयारी र पहल गर्ने विषयमा हालैमात्र जेनेभामा भएको छलफल बिना निष्कर्ष टुंगिएको थियो । तर त्यहाँ वार्ता आवश्यक भन्दै त्यस बारेमा छलफल गर्न गत हप्तामात्र जर्मनीमा विश्वका विभिन्न देशका विदेशमन्त्री जम्मा भएका थिए । 
 
सिरियाको पाँचवर्षे हिंसाको अन्त्यका लागि जारी रहेका विभिन्न प्रयासमध्ये पछिल्लो समयमा यो बैठकको आयोजना गरिएको थियो । सो बैठकमा सहभागी विदेशमन्त्रीहरुले सिरियामा सरकारी र विद्रोही पक्षलाई युद्धविरामका लागि आग्रह गर्ने निर्णय गरेका थिए । तर सिरियाली सरकारलाई सो आग्रह गर्ने भनिएकै समयमा यो हमला भएको छ । 
 
जेनेभामा संयुक्त राष्ट्रसङ्घीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताबीचको केही दिनअघिको वार्तामा कुनै उपलब्धि हुन सकेको थिएन । सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ