इरानमा बाक्दो धुलोसहितको हुरीका कारण एक सय ७१ विरामी (भिडियो)
प्रकाशित २०७५ भदौ १० आइतबार
377
Shares
इरानमा बाक्दो धुलोसहितको हुरीका कारण एक सय ७१ विरामीतेहरान, इरान। इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान तथा बालुचेस्तानमा चलेको बाक्लो धुलोसहितको हुरीका कारण एक सय ७१ जना विरामी भएपछि उनीहरूलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले बताएको छ।
धुलोसहितको कडा हावाहुरीका कारण ८ सय १० जनामा स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको र उनीहरूमध्ये गम्भीर समस्या भएका एक सय ७१ जनालाई अस्पताल भर्ना गरी उपचार शुरु गरिएको प्रान्तको विपत व्यवस्थापन केन्द्रले जनाएको छ।
उनीहरूलाई सिस्तान तथा बालुचेस्तानका विभिन्न अस्पतालमा राखी उपचार भइरहेको केन्द्रका प्रमुख अबोल रहमान शाहनभाजीले पुष्टि गरे। धुलोको प्रभावका कारण केही विरामीहरूमा दृष्टिमासमेत समस्या देखिएको छ भने केहीमा मुटुसम्वन्धी समस्या देखिएको छ।
उक्त क्षेत्रमा रेडक्रस समाज तथा स्थानीयको सहयोगमा प्रभावितहरूलाई खोजी पानी खाद्यान्नको विवरण तथा उपचारका लागि पठाउने काम भइरहेको साहनाभाजीलाई उद्धृत गरी आइआरएनएले जनाएको छ।
उक्त प्रान्तका जाबोल, जाहक, हिरमान्द, हामुन र निमरुज शहरहरुमा अत्यधिक धुलोको समस्या देखिएपछि शैक्षिक संस्था तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने केही सरकारी कार्यालयहरूसमेत शनिबार एक दिन बन्द गरिएका छन्। हुरीका कारण केही उडानहरूसमेत प्रभावित बनेका छन्।
इरानको मौसम विज्ञान महाशाखाले गत अगस्टमा सिस्तान तथा बालुचेस्तान प्रान्तमा धुलोको तहका कारण निम्तिने जोखिमहरूबारे नागरिकहरूलाई सचेत बन्न अनुरोध गरेको थियो।
महाशाखाका अनुसार धुलोको मात्रा प्रति घनमिटर आठ हजार ७३ माइक्रोग्राम पुगेको र यो सामान्य अवस्थाभन्दा १५० माइक्रोग्राम प्रति घनमिटर बढी भएको महाशाखाका प्रमुख अलि मोलाशाहीले बताए। सिन्हवा