arrow

राहत कोटामा श्रीमतीलाई भर्ती गर्दै शिक्षाका कर्मचारी

४८ शिक्षकलाई पैसाको आधारमा सरुवा तथा नियुक्ती

logo
विशन क्षेत्री।
प्रकाशित २०७२ फागुन ४ मंगलबार
parbat.jpg.jpeg
पर्वत। जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीहरुले मोटो रकम लिएर नियमविपरित शिक्षकहरुको नियुक्ती तथा सरुवा गरेको खुलासा भएको छ । शिक्षाका कर्मचारीहरुले रकम लिएर नियमविपरित कार्य गरिरहेको उजुरी अख्तियारमा परेपछि क्षेत्रीय शिक्षा निर्देशनालयले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा शिक्षा कार्यालयका कर्मचारीहले ४८ वटा शिक्षकलाई प्रतिशिक्षक ४० हजारदेखि १ लाख सम्म लिएर सदरमुकाम, घरपायक शिक्षा तथा राहतमा नियुक्ती मिलाईदिएको खुलासा भएको हो । 
 
शिक्षाका कर्मचारीहरुले घरपायक मिलाईदिए बापत शुल्क लिने तथा राहतको सुविधा पनि भोग गरेको क्षेत्रीय शिक्षा निर्देशनालयका कर्मचारीहरुले बताएका छन् ।शिक्षामा भईरहेको अनियमितताको अनुसन्धान गरिरहेको क्षेत्रीय शिक्षा निर्देशनालयले शिक्षा कार्यालयका कर्मचारीहरुले सम्बन्धित विद्यालयको सहमति बिनै राहत कोटामा आफ्ना नातेदारहरुलाई भर्ती गरेको पनि खुलासा गरेको छ । अख्तियारमा उजुरी परेपछि क्षेत्रीय शिक्षा निर्देशनालयले उप–सचिव कुशुमराज पौडेलको नेतृत्वमा छानविन सुरु गरेको थियो ।
 
गत माघ १४ गते विभिन्न निर्देशनालयले विभिन्न १० बुँदामा नाम किटान गरेर शिक्षा कार्यालयलाई छानविनका लागि पत्राचार गरेको थियो । तत्कालीन निमित्त शिक्षा अधिकारी राजेन्द्रबहादुर क्षेत्रीको साथै विद्यालय निरिक्षकहरु उद्धिमराज पौडेल, झलकप्रसाद आचार्य, कृष्ण आचार्य सबैले अनियमितता गरेको निर्देशनालयले बताएको छ ।
 
जिल्ला शिक्षा कार्यालयका तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी, शाखा अधिकृत, विद्यालय निरिक्षक, केहि स्रोतव्यक्ति र लेखापाल समेतको मिलेमतोमा राहत दरबन्दी भएका विद्यालयहरुमा विद्यालयको सहमति र सल्लाह बिनै उनीहरुका आफन्तहरुलाई जागिर मिलाईदिएर राहत सुविधा प्रदान गरेको अनुसन्धानको क्रममा खुलेको छ ।शिक्षकहरुलाई आर्थिक चलखेलमा अनियमित सरुवा तथा नियुक्ती गर्ने कार्यमा विद्यालय निरिक्षक, स्रोत तथा लेखापालहरु प्रत्यक्ष रुपमा संलग्न रहेका छन् । 
 
विद्यालय निरीक्षक कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमतीलाई तिलाहारमा स्थित महेन्द्र प्राविमा राहत शिक्षकमा जागिर खुवाएका छन् । त्यसैगरी विद्यालय निरिक्षक उद्धिमराज पौडेलले खौलालाकुरी माविमा श्रीमती हिरा पौडेललाई राहात दरबन्दीमा जागिर खुवाएका छन् । २०६६ सालबाटै निरीक्षकहरुले यसरी विद्यालयसँग सरसल्लाह नगरी आफन्तलाई सुविधा दिलाउँदै आएको विद्यालयस्रोतले जनाएका छन् । शिक्षकहरुलाई दोषी देखाएर कार्यालयले नै शैक्षिक गुणस्तर खस्काउँदै गएको खौलालाँकुरी माविका शिक्षक चन्द्रदत्त गौतमको आरोप छ ।
 
कार्यालयका विद्यालय निरीक्षक एवं एक महिनाका लागि निमित्त शिक्षा अधिकारी बनेका राजेन्द्र बहादुर क्षेत्रीले अर्मादी प्राविमा रहेको राहात दरबन्दीमा श्रीमती राधाकुमारी कुँवर क्षेत्रीलाई नियुक्ती गराएर सुविधा लिँदै आएका छन् । विद्यार्थीलाई पढाउनको लागी श्रीमान्को पदको आधारमा शिक्षिका बनेकी कुँवर अहिले कार्यालयकै कर्मचारीहरुको संरक्षणमा नेपाली काङ्ग्रेसको चुनावमा क्षेत्र नं २ बाट महिला कोटामा महाधिवेशन प्रतिनिधि बन्दै महासमिति सदस्यमा चुनाव लडेकी छिन् । शिक्षा ऐन तथा नियमावली विपरित उनी अहिले कांग्रेसको चुनावमा सक्रिय रहेकी छन् ।
 
त्यसैगरी कार्यालयका पुर्व लेखापाल गौरवदाश वैरागीले कुश्मा नगरपालिका हातामा रहेको श्रमिक प्राविमा श्रीमतीलाई राहत दरवन्दी दिलाएर सुविधा लिँदै आएका छन् । कार्यालयका कर्मचारीहरुद्वारा अनियमित रुपमा गरिएको शिक्षक नियुक्ति, सरुवा लगायत अन्य अनियमितताको बारेमा अख्तियार कार्यालय पोखराले अनुसन्धान गरिरहेको क्षेत्रीय शिक्षा निर्देशनालयका कर्मचारीहरुले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ