arrow

चीनमा बनेका कार दक्षिणपूर्वी एसियामा बिक्री गर्दै हुण्डाई

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
hyundai-car-china.jpg

एजेन्सी। चीनमा निर्माण भएका हुण्डाई मोटर्सका आफ्नो उत्पादनहरु दक्षिणपूर्वी एसियामा आपूर्ति गर्ने योजना कप्पनीले अघि सारेको छ। पछिल्लो समय कम्पनीको चीनको व्यापारमा देखिएको व्यापक गिरावटका कारण कम्पनीले नयाँ व्यापारनीति सार्वजनिक गरेको हो।

यो रणनीतिसँग जानकार विज्ञहरुले जानकारी दिए अनुसार स्थानीय उत्पादनमा उल्लेख्य विस्तार भएका कारण दक्षिणपूर्वी एसियामा व्यापारको लागि यस किसिमको योजना ल्याइएको बताएका छन्।

किया मोटर्ससहितको हुण्डाई व्यापारको हिसाबमा चीनको सबैभन्दा ठुलो कम्पनी हो। गत वर्ष उसले चीनमा आफ्नो पाँचौं फ्याक्ट्रि स्थापना गरेको थियो। चिनियाँ प्रयोगकर्ताहरुको दक्षिण कोरियन उत्पादकहरुमा देखिएको वितृष्णाको अवस्थामा दक्षिण कोरियन कम्पनीको नयाँ रणनीति आएको हो। राजनीतिक हिसाबमा देखिएको समस्या समाधान हुँदै गएको भए पनि कम्पनीको व्यापार भने लगातार कमजोर बन्दै गएको छ। 

गत जुलाई महिनामा कम्पनीका ३० हजार कारहरु बुक भएका थिए। यो नतिजा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतको गिरावटको हो। साथै यो  सन् २००८ को विश्व आर्थिक संकटयताकै सबैभन्दा कमजोर अवस्था रहेको थियो। त्यसका बाबजुद पनि उसको जनावरीदेखि जुन महिनासम्मको व्यापारमा भने १७ प्रतिशतको महत्वपूर्ण सुधार आएको बताएको छ। हुण्डाईको योजनासँग जानकार रहेका एक व्यक्तिले पछिल्लो समय चीनको व्यापारमा कमजोर बन्न पुगेको अवस्थामा बचाउनको लागि नयाँ उपाय जानु हुण्डाइको लागि आवश्यक रहेको बताए।

दक्षिणपूर्वी एसियाका बजारहरुमा कारको माग अत्यधिक मात्रामा बढिरहेको पाइएको कारण सो क्षेत्रलाई लक्षित गरी हुण्डाईले आफ्नो व्यापारनीति अघि सारेको हो। आगामी दिनमा कम्पनीले आफ्नो युरोपको बजारको विषयमा पनि छलफल गर्ने कम्पनीका अधिकारीहरुले बताएका छन्। चीनबाट बाहिर आफ्ना उत्पादनहरु निर्यात गर्ने कम्पनीहरुमा जेनेरल मोटर्सले अमेरिका निर्यात गर्ने गरेको छ भने भक्सवागनले दक्षिणपूर्वी एसियामा निर्यातको योजना बनाइरहेको छ। 

चीनको आधिकारिक विभागले हुण्डाईको चीनबाट उत्पादनहरु निर्यात गर्ने योजनाको पुष्टि गरेका छन्। यस विषयमा हुण्डाई कम्पनीले भने कुनै पनि आधिकारिक विवरण सार्वजनिक गरेको छैन। चीन हुण्डाई–कियाको लागि सबैभन्दा ठुलो बजार हो।

चीनको स्थानीय कार उत्पादनमा हुण्डाईभन्दा अगाडि केवल भक्सवागन र जेनेरल मोटर्स कम्पनी मात्र रहेका छन्। यद्यपि चीनको बजारमा कम्पनीको हिस्सा कमजोर बन्दै गएको छ। चीनको बजारमा अहिले हुण्डाईको बजार हिस्सा चार दशमलव ४ प्रतिशतमा झरेको छ। यो नतिजा चीन–दक्षिण कोरियाकोबीचमा राजनीतिक समस्या आउनुभन्दा अगाडि आठ दशमलव १ प्रतिशतमा रहेको थियो भने सन् २०१२ मा अहिलेसम्मकै सबैभन्दा उच्च १० दशमलव ५ प्रतिशत पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ