निसानको विद्युतीय कारको उत्पादन सुरु, चिनियाँ बजारलाई लक्षित
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
560
Shares
एजेन्सी। निसान कम्पनीले चीनको बजारलाई लक्षित गरी पहिलो विद्युतीय कार उत्पादनको काम सुरु गरेको छ। सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार निसान कम्पनीले लोकप्रिय भर्सनको ब्याट्रिबाट चल्ने विद्युतीय कार निर्माण गरेको हो। चिनियाँ निर्माताहरुको सहयोगमा जापानी कम्पनीले आफ्नो विद्युतीय कार निर्माणको कार्य सुरु गरेको हो।
वातावरणको हिसाबमा व्यापक मात्रामा चासो तथा चिन्ता बढिरहेको अवस्थामा विद्युतीय सवारीहरुको माग पनि अत्यधिक मात्रामा बढेको छ। विशेषगरी चीन आफ्नो बजारमा वातावरणमैत्री सवारीहरुको विस्तारमा अघि बढिरहेको हो। विश्वको सबैभन्दा ठुलो कारको बजार रहेको चीनमा आफ्नो व्यापार विस्तार गर्ने हेतुका साथमा निसानले आफ्नो विद्युतीय कारको योजना ल्याएको हो। चीन र अमेरिका अहिले व्यापारयुद्धमा रहेको समयमा आफ्ना कारहरुको व्यापार विस्तार गर्ने मौकामा निसान देखिएको हो।
चिनियाँ कम्पनी डोङफेङ मोटर ग्रुपसँगको सहकार्यमा निसानले आफ्नो शून्य उत्सर्जनको विद्युतीय कार निर्माणको योजना अघि सारेको हो। आगामी वर्षबाट बजारमा आउने गरी न्यून शुल्कको विद्युतीय कार बजारमा ल्याउने तयारीमा निसान रहेको हो। सन् २०२२ सम्मको अवधिमा आफ्ना दुई तिहाइ कारहरु विद्युतीय बनाउने तरखरमा निसान रहेको छ। निसानले आफ्ना कारहरुको व्यापारले आगामी दिनमा विश्व बजारमा निकै ठुलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
चीनले पनि वातावरणीय उत्सर्जन कम गर्नका लागि विद्युतीय कारहरुमा विशेष जोड दिँदै आएको छ। उसले ल्याएको प्रदूषण नियन्त्रणको योजनाले विद्युतीय कारहरुको व्यापारमा पनि उल्लेख्य सुधार हुँदै गएको देखिएको हो। विश्वका प्रमुख कार निर्माता कम्पनीहरु जेनेरल मोटर्स र फोर्डले पनि विद्युतीय कार निर्माणको क्षेत्रमा काम गरिरहेका छन्।