arrow

नाडा अटो सो भदौ २६ देखि, विद्युतीय गाडी यसपालिको आकर्षण

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
krishna-dudal-nada.jpg

काठमाडौं। १३ औं संस्करणको नाडा अटो सो यही भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। ६ दिनसम्म आयोजना हुने अटो सोको तयारी तीव्र गतिमा भइरहेको छ। 

हरेक नाडा सोलाई नेपाली बजारमा एक वर्षसम्म आउने नयाँ मोटरसाइकल तथा गाडीहरुको महत्वपूर्ण बजारको रुपमा लिइदै आएको छ। कारको व्यापार प्रबर्दन, अनुसन्धानको लागि उपभोक्ता, उत्पादक र वितरकहरुलाई एउटै छातामुनि राखेर यो अटो सोको आयोजना हुदै आएको छ। 

यसपटकको नाडा अटो सोमा बढ्दो ट्राफिक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना केन्द्रहरु थप गरिएको छ। ट्राफिक नियम पालना गर्नको लागि मानिसहरुलाई सचेत गराउनका लागि यस किसिमको व्यवस्था गर्न लागिएको हो। 

ट्राफिक दुर्घटना न्यूनिकरणका सचेतना कार्यक्रमहरु सञ्चारमाध्यमहरुको माध्यमबाट नेपालभर पुर्‍याउने योजना नाडाको छ।  विश्वव्यापी रुपमा बढ्दो वातावरणको चासो बढ्दो क्रममा रहेको अवस्थामा नेपालमा पनि यसपटकको नाडा अटो सोमा विद्युतीय सवारीहरु देख्न पाइने छ। 

विभिन्न कम्पनीहरुले यसपटक आफ्नो विद्युतीय सवारीका उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। नेपालमा अहिले विद्युतीय सवारीहरुको लागि पूर्वाधारको विकास हुन बाँकी रहेको कारण केही समस्या रहेको भए पनि नेपाली बजारमा विद्युतीय कारहरु भित्रिने क्रम सुरु भएको हो। 

विद्युतीय सवारी मैत्री व्यवस्था हुनका लागि नेपालमा अझै केही समय लाग्नसक्ने देखिए पनि अहिले चलाउँदा समस्या नहुने सवारीहरु मात्र ल्याउने तयारी भइरहेको छ। 

यसअघिको नाडा अटो सोमा ल्याइएका उत्पादनहरुमा मानिसहरुको खासै चासो रहन सकेको थिएन। अहिलेको वर्तमान व्यवस्था र सडकको अवस्थाको कारण पनि मानिसहरुमा त्यसको आकर्षण केही कमजोर रहन पुगेको हो। 

त्यसका साथै अघिल्लो वर्ष ब्राण्डेड कम्पनीका सवारीहरु बजारमा आइनसकेको कारण मानिसहरुमा त्यसबारे रुची कम हुन गएको हो। अब भने बजारमा ब्राण्डेड उत्पादनहरु आउने तयारीमा रहेका छन्। 

बैंकको व्याजदर बढेपछि सवारीसाधनहरुको व्यापारमा पनि नकारात्मक किसिमको प्रभाव परिरहेको छ। यद्यपि नयाँ मौद्रिक नीतिमा उल्लेख गरिएका केही कुराहरुले भने आशा जगाउने ठाउँ छ। यो नीतिले आगामी दशैं तिहारपछि व्याजदर कम हुने र लगानी पनि बढ्नेमा नाडा आशावादी रहेको छ। 

सरकारले पछिल्लो समय ठूला सवारीहरुमाथि कर बढाउने सरकारको निर्णय सवारी व्यापारको हिसाबमा केही नकारात्मक रहेको छ। यस्तोमा यो कर व्यवसायीहरुलाई नभई जनतालाई बढाइएको कर हो भन्ने कुरा सरकारले बुझिदिओस् भन्ने हाम्रो भनाई हो।

नेपालमा धेरै मानिसहरुको आफ्नै सवारी नरहेको र सबैको सपना आफ्नो एउटा साधन होस् भन्ने रहेकोले नेपालमा थप सवारीहरु आवश्यक नै छैनन् भन्ने अवस्था नरहेको तर सडकको विस्तार तथा सवारीको व्यवस्थापनमा भने विशेष जोड दिनुपर्ने अवस्था रहेको छ। अहिले गाडी धेरै देखिएको छ तर वास्तवमा बाटो कम भएको कारण त्यस्तो भान पर्न गएको हो। 

नाडा अटो सोमा ८ सयदेखि ६ हजार सिसिसम्मका गाडीहरुको प्रदर्शनी हुनेछ भने ९८ देखि ५ सय सिसि सम्मका बाइकहरुको प्रदर्शनी गर्ने तयारी भइरहेको छ।  यो सोमा २० ओटा बाइकका ब्राण्डहरु रहेका छन् भने १९ कारका ब्राण्डहरु रहेका छन्। अन्य सबै ब्राण्डहरु जोड्दा एक सय ३४ स्टलहरु बुकिङ भइसकेको छ। 

नाडा आटोमोवाइल एशोसिएसन अफ नेपालका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालसँग कुराकानीमा आधारित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ