एसिया कप छनोट : फाइनलमा पुग्ने नेपालको अंकगणितीय सम्भावना
प्रकाशित २०७५ भदौ १७ आइतबार
487
Shares
काठमाडौं । एसिया कप छनोटको फाइनल पुग्ने नेपालको सम्भावना निकै कमजोर बनेको छ । आफ्नो चार खेलमा दुईमा जित निकालेको नेपाल चौथो स्थानमा रहेको छ । आइतबारको खेलमा सिँगापुरलाई चार विकेटले हराएसँगै नेपालले आफ्नो आशा भने जीवित राखेको छ ।
हङकङ र ओमानको खेल वर्षाले प्रभावित भएसँगै दुवैले १/१ अंक बाँडेका छन् । यससँगै ओमान ७ अंकका साथमा सबैभन्दा अगाडि रहेको छ । यस्तोमा फाइनलमा पुग्ने उसको सम्भावना बलियो बनेको छ । दोस्रो स्थानमा रहेको यूएईसँग ६ अंक रहेको छ भने हङकङ ५ अंकको साथ तेस्रो स्थानमा रहेको छ । यस्तोमा दुई अंकको साथमा पाँचौं स्थानमा रहेकले मलेसिया र अंकविहीन सिँगापुरको सम्भावना सकिइसकेको छ ।
यस्तोनमा मंगलबार हुने खेलले नेपालको भाग्यको फैसला गर्नेछ । नेपाल प्रतियोगिताको फाइनलमा पुग्नका लागि मंगलबारको खेलमा हङकङलाई हराउनुका साथै यूएई र ओमानको खेलको नतिजाको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
मंगलबार नेपाल ठुलो अन्तरले विजयी हुँदै यूएईले पनि ओमानसँगै ठुलो अन्तरको हारको सामना गरेको खण्डमा नेपालको फाइनलन पुग्ने सम्भावना रहनेछ । अन्यथा नेपालको सम्भावना समाप्त हुनेछ । यद्यपि अहिलेसम्म फाइनल खेल्ने पक्का भने कुनै पनि टोलीको भइसकेको छैन ।
मंगलबारको खेलमा जित हासिल गरेको खण्डमा ओमान, यूएई र हङकङले भने सोझै फाइनल खेल्न पाउनेछन् । नेपालले झिनो अन्तरले मात्र जितेको खण्डमा यूएईले हारको बाबजुद पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
त्यसका साथै अर्को कुनै पनि रिजर्व दिन नरहेको कारण सोमबारको खेलमा यूएई र ओमान तथा नेपाल र हङकङ मध्ये कुनै एक खेल वर्षाको कारण रद्द भएमा पनि नेपालको सम्भावना सकिनेछ ।