३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माणको जिम्मा पायो जिआइइटिसी–रमन जेभीले
प्रकाशित २०७५ भदौ १७ आइतबार
254
Shares
काठमाडौं। भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि पुनर्निर्माण प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ।
आइतबार प्राधिकरणले खोलेको प्रस्तावमा सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमनले पुनर्निर्माणको जिम्मा पाएको छ। यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ।
धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसी गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए ।
यीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो । धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए।
प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ । मानन्धरले आशयपत्रका लागि सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने जानकारी दिए। प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि बैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो ।