पत्रकार र भारतीय सेनाबाट अवकाश प्राप्तले बागलुङमा खोले चप्पल उद्योग
प्रकाशित २०७५ भदौ १८ सोमबार
152
Shares
बागलुङ । जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ ।
व्यवसायी बलबहादुर खड्का र सुवास आचार्यले रू १६ लाखको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ । उद्योगमा पाँच जनाले रोजगारी पाएका छन् ।
दैनिक झण्डै २०० चप्पल उत्पादन हुने गरेको सञ्चालक आचार्यले बताए । पहिलो चरणमा महिलालाई लक्ष्य गरी चप्पल उत्पादन गर्न थालिएको छ । “सेवा र लगानी थप्ने योजना छ,” उनले भने।
उद्योगमा लगानी थपेर ५० लाख पुर्याउने लक्ष्य रहेको आचार्य बताउछन् । धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई लक्ष्य गरी सो उद्योग सञ्चालनमा ल्याइएको हो । सदरमुकाममा कक्ष राखेर चप्पल बिक्री गर्न थालिएको छ ।
“माग अनुसार उत्पादन र बजार विस्तार गर्ने योजना बनाएका छौँ,” अर्का सञ्चालक खड्काले भने । यसअघि सामान्य चप्पलसमेत बाहिरबाट आयात गरिँदै आएको थियो ।
यहाँको उत्पादन पोखरासम्म बिक्रीका लागि पठाउने गरिएको छ । भारतीय सेनाबाट अवकाश प्राप्त खड्काले स्वेदश फर्केर उद्योग खोलेका हुन् । अर्का लगानीकर्ता आचार्य पत्रकारितामा समेत सक्रिय छन् ।