टोकियो। जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ। सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ।
‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २ सय १६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन्। ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन्। यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ। तर पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन।
जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन्। उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ।
जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ। जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भने– सोमबार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ र यसले पुर्याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरु अपनाउनु पर्छ।
उनले मङ्गलबार बिहानदेखि आँधीको गति झनै बढ्दै गएको देखिएको बताए। कैयौँ स्थानमा पहिरो गएको र केहीमा बाढीले क्षति पुर्याएको देखिएको छ भन्दै तर अहिले नै स्थलगत रुपमा जान सकिने अवस्था नरहेको पनि उनले बताए।
प्रधानमन्त्री आबेले मन्त्रिपरिषदको आपतकालीन बैठक बताएका छन्। यस बैठकले सुरक्षात्मक उपायका लागि आवश्यक तयारी गर्न निर्देशन दिने बताइएको छ। मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्किन र सरकारी सूचनाहरुलाई मनन् गर्न भनेका छन्। एएफपी