प्रदर्शनका क्रममा श्रीलङ्कामा एकको मृत्यु, ८० अस्पताल भर्ना
प्रकाशित २०७५ भदौ २१ बिहिबार
572
Shares
कोलम्बो। श्रीलङ्कामा भएको प्रदर्शनका क्रममा बिहीबार एक जनाको मृत्यु भएको छ भने अरू ८० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ। राजधानी कोलम्बोमा विपक्षीहरुले गरेको बृहत् प्रदर्शनका क्रममा घाइते भएका र बिरामी भएका सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
कोलम्बो नेशनल हस्पिटलका अधिकारीहरुले दिएको जानकारी अनुसार मुटुसम्बन्धी समस्या देखिएका एक व्यक्तिको मृत्यु भएको हो। अस्पतालमा भर्ना भएका मध्ये आठ जनालाई विषाक्त खानाको असर देखिएको र अरू आठ जनालाई सामान्य चोट लागेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
त्यसैगरी मादक पदार्थ सेवन गरेका अरू ७० जनालाई पनि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका अधिकारीहरुले बताएका छन्। उनीहरु सबैलाई प्रदर्शन लगत्तै अस्पताल लगिएको थियो।
श्रीलङ्कमा विपक्षीहरुले संयुक्त रुपमा विरोध प्रदर्शनसहितको आन्दोलनको आयोजना गरेको समाचारमा जनाइएको छ। उनीहरुले मुल्यवृद्धि र सरकारको आर्थिक नीतिको विरुद्धमा प्रदर्शन गरिएको जनाएका छन्।
आन्दोलनको नेतृत्व पूर्व राष्ट्रपति महेन्द्रा राजापाक्षका जेठा छोरा तथा सांसद नामाल राजापाक्षले गर्नुभएको थियो। आन्दोलनकारीहरुले प्रदर्शनमा हजारौँको सहभागिता रहेको दाबी गर्दै एकिन तथ्याङ्क भने नभएको बताएका छन्। रासस