गर या मरको बङ्गलादेशविरुद्धको खेलमा दुई नेपाली खेलाडी परिवर्तन
अञ्जन र भरतको ठाउँमा विशाल र निराजन
प्रकाशित २०७५ भदौ २३ शनिबार
143
Shares
काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबल अन्तर्गत शनिबार साँझ पौने ७ बजे हुने बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
नेपालले भुटानविरुद्ध खेलेकामध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बङ्गलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।
नेपालले अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।
सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । पाकिस्तानले भुटानलाई ३–० ले पराजित गरेको अवस्थामा सेमिफाईनल पुग्न नेपाललाई जित्नै पर्ने दवाव छ । हार्यो कि आउट भयो ।
मुख्य प्रशिक्षक महर्जनले खेलमा नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा खेलाडी मैदान उतार्ने बताएका छन् ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डरमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास छन् ।
बङ्गलादेशविरुद्ध विगतको नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन ।
साफ च्याम्पियनसिपमा बङ्गलादेशविरुद्ध छ पटक प्रतिष्पर्धा गरिसकेको नेपालले चारमा पराजित र दुईमा जित हासिल गरेको छ ।