arrow

चिनियाँ विदेशमन्त्री वाङ पाकिस्तानमा, सहयोग गर्ने पूरानो अडान दोहोराए

आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोमा छलफल

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
foreign-minister-china-pakistan.png

इस्लामावाद, पाकिस्तान। चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी) बारे छलफल भएको छ। चीनका विदेश मन्त्री वाङ यी र उनका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सीपिइसीबारे शनिबार आपसी वार्ता भएको पाकिस्तानले जनाएको छ। वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका बिषयमा छलफल भएको हो।

तीन दिन लामो पाकिस्तानमा आएका चिनियाँ विदेशमन्त्री वाङले चीनले पाकिस्तानको विकासका लागि सहयोग गर्ने पूरानो अडान दोहोराउँदै चीनले पाकिस्तानसँग दुई देशबीचको व्यापक रणनीतिक सहकार्यका सहमत भएको पाकिस्तानी समाचार संस्था जियो न्यूजले जनाएको छ।

पाकिस्तानका वैदेशिक कार्यालयका प्रवक्ता मुहम्मद फैसलले भने, चिनियाँ विदेशमन्त्री वाङले पाकिस्तानको सामाजिक, आर्थिक तथा विकास पूर्वाधारका कार्यक्रमप्रति दरिलो समर्थन रहने बताए।

चीन–पाकिस्तान आर्थिक करिडोर, आर्थिक सहकार्य, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान गर्ने बिषयमा छलफल केन्द्रित भएको फैसलले सञ्चारकर्मीलाई जानकारी गराए। भ्रमणका क्रममा वाङले नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनमा हुने अन्तर्राष्ट्रिय बजारबाट आयात गरिएका सामानहरूको प्रदर्शनीमा सहभागीताका लागि आमन्त्रण गरेको पाकिस्तानी पक्षले जनाएको छ।

वाङले पाकिस्तानमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, पाकिस्तानी संसदका सभामुख तथा सैनिक प्रमुखलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ। पाकिस्तानमा नयाँ सरकार गठन भएपछि चिनियाँ उच्च पदस्थ अधिकारीसहितको यो पहिलो भ्रमण दल हो। एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ