उर्जा क्षेत्रमा चीनसंग भएका सहमती कार्यान्वयन गर्न उर्जामन्त्रालयले थाल्यो पहल
प्रकाशित २०७५ भदौ २५ सोमबार
966
Shares
काठमाडौं। नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकको मिती तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला नेपाल र चीनबीच उर्जा सम्झौतामा हस्ताक्षर भएको थियो। नेपालका उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चीनका उर्जामन्त्री नुर बेक्रीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
उक्त समझदारीअनुसार दुवै देशले उर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमती भएको थियो। नेपालले उक्त सम्झौतालाअनुसार नै सात सदस्यिय संयन्त्र निर्माण गरेको छ। त्यसको सहअध्यक्ष(को–चेयर)मा उर्जा सचिव अनुप कुमार उपाध्याय रहेका छन्।
समितिमा उर्जा महाशाखा हेर्ने सह–सचिव, उर्जाकै कानुन हेर्ने सहसचिव,परराष्ट्रमन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव,विद्युत विकास विभागका महानिर्देशक,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र उर्जामन्त्रालयकै सिडिई बावुराम अधिकारी सदस्य सचिव रहेका छन्। उर्जामन्त्री पुनले चीनसंग भएका सहमतीलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउन निर्देशन दिएपछि त्यसको मिति समेत तय भएको छ।
नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमती जनाइसकेको छ। दुवै पक्षको सहमतीअनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्धिपक्षीय बैठक काठमाडौंमा टुंगो लागेको छ।
चिनियाँ पक्षले बैठकमा सहभागीता जनाउनु अघि एजेण्डा पठाउन नेपाली पक्षसंग आग्रह गरेको छ। उर्जामन्त्री बर्षमान पुनसहित उर्जामन्त्रालयका उच्च अधिकारी सम्मेलित आईतबार बसेको बैठकले चीनलाई पठाउने एजेण्डा समेत तय गरिसकेको छ।
बैठकमा नेपाल–चीन बीचको अन्र्तदेशिय प्रशारण लाइन र ग्रिड कनेक्शन, दुई देशको बीचमा जोइन्ट भेन्चरमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत परियोजना र उर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल हुनेछ।
त्यसैगरी गत २१ जुनमा भएको प्रधानमन्त्रीको चीन भ्रमणको बेला नेपालले पठाएका सात वटा जलविद्युत आयोजना र ६ वटा प्रशारण लाइनलाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल हुने उर्जामन्त्रीका पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।
उर्जामन्त्री पुन त्यसलगत्तै चीन भ्रमणमा जाने कार्यसुची समेत छ। चिनियाँ समकक्षी नुर बेक्रीको निमन्त्रणामा मन्त्री पुन आगामी अक्टोबरमा चीन जाने कार्यक्रम छ। उनले चीन भ्रमणको क्रममा आफ्ना चिनिया समकक्षीसंग द्धिपक्षीय वार्ता गर्नुका साथै ‘वेल्ट एण्ड रोड इनर्जी मिनिस्ट्रियल कन्फ्रेन्स’ मा समेत भाग लिने कार्यक्रम छ।