arrow

अफगान द्वन्द्वः आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुग्यो

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
afghanistan-suicide-attack.jpg

जलालाबाद। अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन्। संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ।

यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वी क्षेत्रमा भएको त्यस विस्फोटमा अरु एक सय ६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताए।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ। इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ।

नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ। उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउँदै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरिरहेको अवस्थामा भएको थियो। हमलाकारीले प्रदर्शनकारीको बीचमा गएर आफैंलाई बमले उडाएको बताइएको छ।

मृत्यु भएका र घाइतेहरुलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालहरुमा लगेका थिए। जनवरीमा भएको यस्तै एक विभत्स घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउँदा एक सय भन्दा बढी सर्वसाधारण मारिएका थिए। त्यो बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ