करदाता सेवा कार्यालय स्थापना भएपछि सेवाग्राही हर्षित
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ भदौ २७ बुधबार
160
Shares
पाँचथर। पहिलो पटक करदाता सेवा कार्यालय पाँचथरको सदरमुकाम फिदिममा आएपछि सेवाग्राही हर्षित भएका छन्। सेवाग्राहीले सेवा लिन झापाको भद्रपुर स्थित आन्तारिक राजश्व कार्यालयमा पुग्नुपर्ने वाध्यता हटेको छ। गत भदौ २२ गते बाट यस कार्यालयले सेवा प्रवाह गर्न थालेको करदाता सेवा कार्यालय प्रमुख तथा करअधिकृत सरोज कुमार सिंहले जानकारी दिए।
यस स्थानमा कार्यालय स्थापना भएपछि पाँचथर तथा ताप्लेजुङ सम्मका सेवाग्राहीलाई सेवा लिन सहज भएको उनको भनाई छ। सेवा लिन कर दाता सेवा कार्यालय पुगेकी फिदिम २ की स्थानिय रमा पौड्यालले भने,“पहिल्यै भद्रपुर सम्म कर बुझाउन जानुपर्दथ्यो तर अहिले फिदिममै यो कार्यालय आएपछि हामीलाई धेरै सहज भएको छ।”
कार्यालय अव यहिँ ठाउँमा स्थापना भएपछि केहि करदताहरुको संख्यामा समेत वृद्धि भई राजश्व समेत बढ्ने अपेक्षा गरिएको कार्यालय प्रमुख सिंहको भनाई छ। कार्यालय संचालन आएपनि यसको औपचारिक उद्घाटन भने भदौ ३० गते मात्रै गरिने भएको छ।
अहिले यस कार्यालयबाट कर विवरण दाखिला, करचुक्ता प्रमाणपत्र उपलब्ध, करदाता दर्ता गर्ने कार्य र विवरण सच्याउने कार्य भइरहेको कार्यालयले जनाएको छ। यस कार्यालयमा ६ जनाको दरवन्दी भएपनि अहिले २ जना मात्रै कर्मचारीले सेवा दिइरहेका छन्।
यस कार्यालयमा कर अधिकृत एक जना, नायव सुब्बा ३ जना, डाटा इन्ट्रि सुपरभाइजर एक जना र कार्यालय सहयोगीको दरवन्दी रहेको छ। तर अहिले कर अधिकृत र नायव सुब्बा दुई जनाले मात्रै काम गर्दे आएका छन्।