सभामुख महोदय, सोंच र क्षमतामै वादल लागेको गृहमन्त्री वादल हामीलाई चाहिन्छ र ?
प्रकाशित २०७५ भदौ ३० शनिबार
980
Shares
काठमाडौं । कांग्रेस सांसद गगन थापाले गृहमन्त्री वादको सोँचमै वादल लागेको कडा टिप्पणी गरेका छन्।प्रतिनिधिसभाको बैठकको शून्य समयको एक मिनेट भित्र उनले गृहमन्त्री रामबहादुर थापामाथि थुप्रै प्रहार गर्न भ्याए। उनले पूरा एक मिनेट पनि समय लिएनन् । ५२ सेकेन्डभित्रै आफ्नो भनाई टुंग्याए र त्यो ५२ सेकेण्ड भित्रै माइक स्ट्याण्डमा राख्न समेत भ्याए । उनले सोंच र क्षमता दुबैमा वादल लागेको गृहमन्त्री वादल हामीलाई चाहिन्छ र ? भनि प्रश्न समेत गरे ।
के बोले उनले ५२ सेकेन्डमा ?
अडियो बाहिर आउँदा सभामुख महोदय भनेको ठाउँमा महोदय मात्रै सुनियो। सभामुख शब्द अडियोवालाले खाइदियो । थापाले सम्बोधन गर्दै भने:
'महोदय, ठूलो माछा पक्रिन सक्नु भएन । हामी बोलेनौँ । कामचोर व्यवसायीलाई कानूनै नबनाई पक्रिनु भयो, आफै छोड्नु भयो हामी बोलेनौँ । डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनु भयो हामी बोलेनौँ । लेनिन विष्टलाई विमानस्थलमा रोक्नु भयो, पत्रकार सम्भू श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनु भयो हामी बोलेनौँ । हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठिकै हो, क्षमतामा मात्रै केही वादल लागेको हो । तर, हिजो हामी जब बोल्यौँ । मन्त्रीले पनि बोल्नु भयो । अनि थाहा पायौँ, युद्ध वा शान्ति दुबैको नियमसँग नमिल्ने गरी आफ्नो हिरासतमा राममनोहर यादव मारिँदा, अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्रले जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्रै होइन रहेछ वादल लागेको । वादल त गृहमन्त्री ज्यूको सोंचमै लागेको रहेछ । सम्माननीय सभामूख महोदय सोंच र क्षमता दुबैमा वादल लागेको गृहमन्त्री वादल हामीलाई चाहिन्छ र ?'