एन्फाले पहिलोपटक ट्रफी टुरको आयोजना गर्दै, ए डिभिजन लीगका विजेतालाई कति पुरस्कार ?
प्रकाशित २०७५ असोज १ सोमबार
226
Shares
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले फुटबलको इतिहासमा पहिलो पटक ट्रफी टुर आयोजना गर्ने भएको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लीग समितिका संयोजक विज्ञानराज शर्माले सहिद स्मारक ए डिभिजन लीगको ट्रफी काठमाडौं उपत्यकामा टुर गरिने बताएका हुन् ।
यसअनुसार सोमबार दशरथ रंगशालाबाट ट्रफी टुर सुरु हुनेछ। यो ट्रफी उपत्यकाका सात स्थानमा पुर्याइने छ। पहिलो पटक विद्यालय केन्द्रीत रहने ट्रफी टुरको मुख्य उद्देश्य लीग फुटबलको माहोल सिर्जना गर्नु रहेको संयोजक शर्माले बताए। सोमबार दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुनेछ ।
टुर अन्तर्गत काठमाडौंका ५ तथा ललितपुर र भक्तपुरको १–१ विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ ।
लिग असोज १३ बाट
चार वर्षपछि हुन लागेको ए डिभिजन लीग असोज १३ देखि हुनेछ। लीगको विजेताले ५० लाख रुपैयाँ पाउनेछन् भने उपविजेता टोलीले ३५ लाख हात पार्नेछन्।
तेस्रो हुने टोलीले २५ लाख तथा चौथोले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै एन्फाले पाँचौं हुनेलाई ७ लाख र छैटौं हुनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। यसबाहेक फेयर प्ले टोलीले १ लाख रुपैयाँ पाउनेछ।
विधागत रुपमा उत्कृष्ट प्रशिक्षक तथा खेलाडीले जनही मोटरसाइकल प्राप्त गर्नेछन्। १४ टोली सम्मिलित प्रतियोगितामा राउण्ड रोबिन लीग प्रणालीमा खेलाइनेछ। लीगमा कूल ९१ खेल हुनेछन्।
एन्फाले लीग तयारी खर्च स्वरुप प्रत्येक क्लबलाई २० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ। यो रकम हालसम्म एन्फाले कुनैपनि प्रतियोगिता तयारीको लागि दिएको सर्वाधिक रकम हो।