ट्रम्पको शासनकालमा अमेरिकासंगको सम्बन्धमा ह्रास आयो : क्युबा राष्ट्रपति मिगेल
प्रकाशित २०७५ असोज १ सोमबार
403
Shares
हवाना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा क्युबा र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा ह्रास आएको क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले बताएका छन्। “दुई देशबीचको सम्बन्धमा आज ह्रास आएको छ। हामीले अझै पनि संवादको पहल जारी राखेका छौं र हामीले कुनै पनि बखत संवादको सम्भावनालाई खारेज गरेका छैनौं, तर यो समानताका आधारमा हुनु पर्दछ,” डायाज कनेलले टेलिसुर टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै बताए। कार्यकाल सम्हालेयता यस वर्ष उहाँको यो नै पहिलो अन्तर्वार्ता हो।
अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प विजयी भएसँगै पूर्व राष्ट्रपति बाराक ओबामाले शुरु गरेको ऐतिहासिक कुटनीतिक संवादमा कमी भइरहेको छ। डायाज–कनेलले क्युबामाथि अमेरिकी आर्थिक प्रतिबन्ध नाजायज रहेको बताउँदै अमेरिकी प्रतिबन्ध नै मुलुकको विकासका लागि मुख्य बाधक रहेको उल्लेख गरे। उनले अमेरिकी कुटनीतिज्ञलाई प्रभावित तुल्याउने गरी भएको रहस्यमय “स्वास्थ्य आक्रमण” मा क्युबाको कुनै भूमिका नरहेको बताउँदै भने : “हामीले कसैलाई पनि आक्रमण गरेका छैनौं।”
स्वास्थ्य आक्रमणबाट पीडित भएका कुटनीतिज्ञहरुमा मस्तिष्कमा घाउचोट देखिएको र सुन्ने क्षमता कमजोर भएको पाइएको छ। सोही अन्तर्वार्तामा डायाज–केनेलले समलिङ्गी बिबाहलाई मान्यता दिन आफू तत्पर रहेको बताए। डायाज–केनेलले वर्षौंदेखि सत्ता चलाइरहेका क्यास्ट्रो परिवारको हातबाट गत अप्रिलदेखि राष्ट्रपतिको कार्यभार लिएका थिए। एएफपी