- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियासँगको वार्ता पुनः सुरु गर्न तयार रहेको बताएका छन् । उनले उत्तर कोरियालाई सन् २०२१ सम्म निशस्त्रीकरणका लागि वार्ता गर्न तयार रहेको बताएका हुन् ।
यस वर्षको सुरुवातमा अमेरिका र उत्तर कोरियाको बीचमा वार्ता सुरु भएको थियो । यद्यपि उत्तर कोरियाले अमेरिकालाई विश्वस्त गराउन नसकेको भन्दै केही समयअघि वार्ता रद्द भएको थियो ।
बुधबार उत्तर कोरियन नेता किम जोन उनले आफ्नो प्रमुख मिसाइल परीक्षण केन्द्र बन्द गर्ने प्रतिबद्धता जनाएसँगै अमेरिकाको तर्फबाट यस्तो भनाइ आएको हो । किमले निशस्त्रीकरणको उपलब्धि हासिल गर्नका लागि प्रतिबद्धता जनाएसँगै अमेरिका पनि उत्तर कोरियाप्रति आशावादी देखिएको हो ।
पोम्पेओले उत्तर कोरियन विदेशमन्त्री रि योङ–हो लाई अमेरिका भ्रमणको निम्तो दिइएको र आगामी साता न्युयोर्कमा वार्ता हुने बताए । साथै यो वार्तासँगै अष्ट्रियाको भियनामा पनि अमेरिकी प्रतिनिधि र उत्तर कोरियन प्रतिनिधिको बीचमा वार्ता हुने बताइएको छ ।
दक्षिण कोरियन राष्ट्रपति मून जाइ इनको उत्तर कोरिया भ्रमणपछि यो प्रायद्वीपमा आशा पलाएको हो । तीनदिने उत्तर कोरिया भ्रमणको क्रममा रहेका मून विहीबार फर्कँदैछन् । उनको भ्रमणमा विगशेषगरी निशस्त्रीकरणको विषयमा वार्ता भएको थियो । यो भ्रमणसँगै विश्लेषकहरुले कोरियायुद्ध अब आधिकारिक रुपमा समाप्त हुने विश्वास व्यक्त गरेका छन् । (एजेन्सी)