arrow

उद्योग बाणिज्य संघको चुनावमा पूर्व अध्यक्षहरु प्रजु प्यानलको पक्षमा

logo
सरिता तिम्सिना पगेनी 
प्रकाशित २०७५ असोज ४ बिहिबार
udhyog-election.jpg

पोखरा । पोखरा उद्योग बाणिज्य संघको यही असोज ५ र ६ गते सम्पन्न हुन लागेको ३२ औ महाधिबेशनमा संघका पूर्व अध्यक्षहरुले रबिन्द्र बहादुर प्रजु प्यानललाई सघाउने भएका छन्  । संघका १० पूर्व अध्यक्षहरुले बुधबार संयुक्त रुपमा बिज्ञप्ति निकालेर रबिन्द्र बहादुर प्रजुको प्यानललाई सर्मथन गरेका हुन् ।

पूर्व अध्यक्षहरु  सुरेशकुमार राजभण्डारी, हेमबहादुर प्रधान, आनन्दराज मुल्मी, वसन्त उदास, रमेश कर्माचार्य, राजेन्द्र कुमार लालचन, दीपक श्रेष्ठ, मानकाजी माकाजु, कृष्णमोहन श्रेष्ठ र बिन्दु कुमार थापाले प्रजु प्यानललाई समर्थन गर्दै निर्वाचित गराउन सबै उद्योगी, ब्यबसायी मतदाताहरुलाई अपिल समेत गरेका छन् ।

ब्यबसायीका बीचको भातृत्व कायम राख्न र ब्यबसायिक वाताबरण तयार गर्नसमेत सहमति र सहकार्यको बिकल्प नभएको उल्लेख गर्दै संघको ३२ औं महाधिबेशनमा हालका बरिष्ठ उपाध्यक्ष रबिन्द्रबहादुर प्रजुलाई सर्बसम्मत रुपमा अध्यक्ष बनाउन बर्तमान अध्यक्ष, पूर्व अध्यक्ष र बर्तमान महासचिबको सक्रियतामा लिखित सहमति भएको भए पनि सहमति बिपरित बर्तमान महासचिबले उमेदबारी दिएकाले आफुहरु आश्चर्यचकित भएको बिज्ञप्तिमा उल्लेख छ ।

सहमति गर्ने अनि सहमति तोड्दै जाने प्रबृत्ति संस्थागत हितका लागि घातक हो भन्दै यस्तो प्रबृत्तिले निजी क्षेत्रको बिश्वसनियता माथि नै प्रश्न उठ्ने भन्दै बिज्ञप्तिमा भनिएको छ , ‘हामी अझै पनि सहकार्य र सहमतिमा जोड दिन्छौ, बर्तमान अध्यक्ष र पूर्व अध्यक्षको रोहबरमा गरिएको उक्त लिखित सहमति अनुसार नै कार्यान्वयन हुनु पर्छ ।’

सहमतिकै आधारमा हालका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजुलाई नै  सर्बसम्मत रुपमा अध्यक्ष बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

निजी क्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट बचाउन, स्थानीय, प्रदेश र संघ सरकार संग समन्वय गर्न, कर प्रणाली, बैकको कार्य प्रणाली, ब्यबसाय दर्ता र खारेजी प्रक्रियालाई सहज बनाउन र संघलाई गैह्र राजनीतिक चरित्रको ब्यबसायिक र सामाजिक संस्थाको रुपमा बिकास गर्न प्रजु प्यानल लाई  सर्मथन गरेको जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ