arrow

द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा आशङ्का नगर्न नेपाली सेनाको आग्रह

logo
प्रकाशित २०७५ असोज ४ बिहिबार
fast-trak-new-FNL.jpg.jpeg

काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने दाबी गरे ।

 सडकको रेखाङ्कनअनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररुपमा भइरहेको जानकारी दिँदै उनले भने, “कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ ।”

सस्तो मूल्यमा गुणस्तरीय ढङ्गबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई सङ्गठनले इतिहास रच्ने अवसरका रुपमा लिएर काम गरिएको पनि सो अवसरमा जानकारी दिइयो । उक्त द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको छ ।

उक्त कम्पनीसँग यही महीनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने तथा सम्झौता भएको चार महिनाभित्र डिपीआर तयार हुने सेनाले जनाएको छ । उक्त डिपीआर करीब रु १० करोड १५ लाखको लागतमा तयार हुनेछ ।

 द्रुतमार्गले काठमाडौँ र तराईलाई भावनात्मक र भौगोलिकरुपमा जोड्ने विश्वास गरिएको छ । प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ ।

नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म एक हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ । द्रुतमार्गसहित ५२६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ