arrow

‘द भ्याली अफ लाइट’ म्युजिक भिडियो सार्वजनिक

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
the-valley-of-light.jpg

काठमाडौं। नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्‍याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको यो भिडियो आज यहाँ आयोजित कार्यक्रममा युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सार्वजनिक गरेका हुन्। उक्त भिडियो नेपाल पर्यटन बोर्डको फेसबुक पेजमा हेर्न सकिन्छ।

राजदूत कोडीले नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका लागि यो गीत एउटा उत्कृष्ट माध्यम भएको बताए। बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले म्युजिक भिडियो एउटा सङ्गीत मात्रै नभएर लक्षित उद्देश्यका लागि सिर्जना गरिएकाले यसबाट नेपालमा शान्ति स्थापना तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोगी हुने बताए।

जम्मा छ मिनेट ३० सेकेण्ड अवधिको गीतमा नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, रवीन तामाङ, कुन्ति मोक्तान, इन्दिरा जोशी, क्यानेडियन कलाकार ताहिर कबालसहित केही विदेशी कलाकारले समेत आवाज दिएका छन्।

गीतमा नेपाली बालबालिका र भारतको एआर रहेमान सङ्गीत विद्यालय चेन्नइका विद्यार्थीको आवाजसमेत सुन्न सकिन्छ। रञ्जन झाको सङ्गीत संयोजन रहेको उक्त भिडियोको निर्देशन मीरा अरदले गरेकी हुन्। गीतलाई तबला, सारङ्गी, बाँसुरी, नगराजस्ता परम्परागतबाजादेखि बेस गीतार र ड्रमको उत्कृष्ट संयोजन र हिमाली शृङ्खला, त्यहाँको जीवनशैली, विविधतापूर्ण धार्मिक तथा सांस्कृतिक दृष्यले जीवन्त बनाएको छ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकामा उक्त बोर्डले यसलाई सफल बनाउन विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ। यो म्युजिक भिडियोको निर्माण पनि त्यस्तै गतिविधिअन्तर्गत गरिएको बोर्डले जनाएको छ। गीत सङ्गीतप्रति धेरै मानिस आर्कषित हुने भएकाले यसले विश्वमा नेपालबारे थप जानकारी सञ्चार गर्ने विश्वास गरिएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ