arrow

भारत अधीनस्थ काश्मिरका प्रहरी अधिकारीले असुरक्षाका कारण दिए राजिनामा

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
kasmirattack.jpeg

नयाँ दिल्ली । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् ।  उक्त क्षेत्रका दुई दर्जन प्रहरी अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्  ।

उनीहरुले पछिल्ला समयमा सशस्त्र हतियारधारी आतङ्ककारी समूहका तर्फबाट भारतीय प्रहरीमाथि आक्रमण बढेको भन्दै उनीहरुले प्रहरी सेवा छोड्न इच्छुक रहेको बताएका हुन् ।

उक्त क्षेत्रमा पछिल्लो समयमा अज्ञात आतङ्ककारी समूहले आक्रमण बढाएका छन् । पछिल्ला केही दिनयता प्रहरीमाथि ती आतङ्ककारीले गरेका आक्रमणबाट तीनजना वरिष्ठ प्रहरी अधिकारी नै मारिएका छन् ।

प्रहरीमाथिको सो हमलापछि पछिल्लो समयमा प्रहरीमा असुरक्षाको त्रास बढेको र जसका कारण प्रहरी अधिकारीहरु नै प्रहरी सेवामा रहेर काम गर्न नसक्ने बताउन थालेका छन् । तर भारतको गृह मन्त्रालयले भने सो समाचारको खण्डन गरेको छ । उक्त मन्त्रालयले प्रहरी अधिकृतहरुबाट त्यस्तो राजिनामा नआएको जनाएको छ ।

भारतीय प्रहरीका अधिकारीहरुले आफूहरुले असुरक्षाका कारण काश्मिरमा काम गर्न नसकेको भन्दै यस जागिरबाट आफूहरुलाई मुक्ति चाहिएको भिडियो सार्वजनिक गरेका छन् ।

उक्त भिडियोले सामाजिक सञ्जालमा व्यापकता पाएपछि मन्त्रालयको तर्फबाट यो प्रतिक्रिया आएको हो ।  भारतको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी यस समाचारको खण्डन गरेको जनाइएको छ ।

उक्त मन्त्रालयले ती प्रहरी अधिकारीले प्रहरी सेवामा रहेर काम गर्न इच्छुक नरहेको भनी दिएको भनिएको राजिनामालाई एउटा गलत समाचार भनेको छ ।

यो समाचार काश्मिरमा रहेर काम गरिरहेका सुरक्षा निकायका विरुद्धमा आएको एउटा ‘प्रोपागाण्डा’ भनी भारतीय गृह मन्त्रालयले शनिबार जनाएको छ ।

तर पनि शनिबारका भारतीय अखबारहरुमा भने यो समाचार निकै प्राथमिकताका साथ आएको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ