काठमाडौं। न्युजिल्याण्डका स्टार क्रिकेटर ब्रेण्डन म्याकलमले टेष्ट क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने नयाँ किर्तिमान कायम गरेका छन्। अष्ट्रेलिया बिरुद्धको आफ्नो जिवनको अन्तिम टेष्ट खेलिरहेका मकलमले ५४ बलमा शतक प्रहार गरेका थिए। यसअघि वेष्टईण्डिजका विवियन रिचरड्सको नाममा उक्त रेकर्ड रहेको थियो। रिचर्डसले ५६ बलमा शतक प्रहार गरेका थिए। १९८६ मा रिचर्ड्सले ईङ्ल्याण्ड बिरुद्ध उक्त रेकर्ड राखेका थिए। तीस बर्ष मपछि मकलमेले रिचर्डसको रेकर्ड तोडेका हुन्।
बलको हिसाबमा सबै भन्दा छिटो शतक बनाएका मकलमले ७८ मिनेट ब्याटिङ गर्दै ५४ बलमा ४ छक्का र १६ चौका प्रहार गरेका थिए। ५१ बलमा ८८ मा खेलिरहेका मकलमले छिटो शतक बनाउने दौरान लगातार तीन चौका प्रहार गरेका थिए। उनले आउट हुनु अघि १४५ रन बनाएका थिए।
सन् १९८१ सेप्टेम्बरमा जन्मेका मकलमले दाहिने हाते विकेट कीपर ब्याट्सम्यानका रुपमा खेल जिवनको शूरुवात गरेका थिए। सन् २००४ मार्च १०मा दक्षिण् अफ्रिका बिरुद्ध पहिलो टेष्ट क्रिकेट खेलेका मकलमले पहिलो ईनिङमा ५७ रन बनाएका थिए भने दोस्रो ईनिङमा आउट नभई १९ रन बनाएका थिए। पहिलो टेष्टमा उनले तीन क्याच पनि लिएका थिए । यस्तो शुरुवात गरेका मकलमले आफ्नो १००औं टेष्टको पहिलो ईनिङमा शुन्ना रनमा आउट भएका थिए।
टेष्टमा १२ शतक प्रहार गरेका मकलमको उच्चतम स्कोर ३०२ रहेको छ। भारत बिरुद्ध नयुजिल्याण्डको वेलिङटनमा २०१४ फेब्रुअरी १४मा उक्त स्कोर बनाएका थिए। उनी तेहेरो शतक प्रहार गर्ने न्युजिल्याण्डका एकमात्र खेलाडी हुन्। एउटा तेहेरो शतक र तीन वटा दोहोरो शतक बनाएका मकलम न्युजिल्याण्डका सफलतम विकेट किपर ब्याट्सम्यान हुन्। मकलमले ईङल्याण्ड र दक्षिण अफ्रिका बाहेक सबै टेष्ट खेल्ने देशहरु बिरुद्ध शतक प्रहार गरेका छन्।