arrow

१० प्रतिशत बढाइएको नयाँ भाडादर लागू 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
mahanagar-yatayat-Inside-Ringroad.jpeg

काठमाडौं । सरकारले बढाएको नयाँ भाडादर लागू भएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सरकार र राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिको छलफलले आइतबारबाट लागू हुने गरी १० प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो । 

त्यो निर्णय कार्यान्वयनमा आएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले बताए । उनले भने, ‘नयाँ भाडादर लागू भएको छ ।’ समितिमा रहेका यातायात व्यवसायीले दशैँमा राजधानीबाट घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकारले १० प्रतिशत भाडा बढाएको हो । 

अहिले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न स्थानीय छोटा रुटहरुमा सवारी साधनमा चढ्ने बित्तिकै यात्रुहरुसँग १५ रुपैयाँ लिने गरिन्छ । सरकारले २०७२ सालमा भाडादरको वैज्ञानिक समायोजन गरेर तोकेको भाडादर भने १३ रुपैयाँ मात्रै हो । अर्थात् ४ किलोमिटरसम्मको भाडा १३ रुपैयाँ तोकिएको छ । तर, सवारी साधनवालाले चढ्ने बित्तिकै १५ रुपैयाँ लिँदै आएका छन् । 

यातायात व्यवस्था विभागका प्रवक्ता उपाध्यायका अनुसार २०७२ सालमा तोकिएको भाडादरमा १० प्रतिशत वृद्धि भएको हो । उनका अनुसार अहिले व्यवासायीले लिएको भाडामा नभई सरकारले तोकेको भाडामा १० प्रतिशत बढेको हो । 

१३ रुपैयाँमा १० प्रतिशत वृद्धि हुँदा १४.३ रुपैया मात्रै हुन्छ । अर्थात् अब नयाँ भाडादर अनुसार ४ किमीसम्मको भाडा १५ रुपैयाँमात्रै तिरे पुग्नेछ । 

यसअघि, यात्रु भाडामा ठगिँदै आएका थिए । सवारीसाधनहरुले आफुखुसी लिइरहेको भाडादरमा १० प्रतिशत वृद्धि गरेको पाइए कारबाही हुने समेत विभागले चेतावनी दिएको छ । नयाँ भाडादर कायम भएसँगै विभागले अनुगमन समेत गर्ने जनाएको छ ।

५ किलोमिटर सम्मको भाडादर १५ रुपैयाँ हुन आउँछ । नयाँ भाडादर अनुसार १६.५ रुपैयाँ हुन्छ । ६ किलोमिटरको १६ रुपैयाँ तोकिएको छ । यो वृद्धि हुँदा १७.६ रुपैयाँ हुन्छ ।

१० किलोमिटरको १९ रुपैयाँ तोकिएको छ । नयाँ भाडादर अनुसार २०.९ रुपैयाँ हुन्छ । १६ किलोमिटरसम्मको २३ रुपैयाँ भाडादर रहेकोमा नयाँ वृद्धि अनुसार २५.३ रुपैयाँ हुनेछ । त्यस्तै १९ किलोमिटर भन्दामाथि २५ रुपैयाँ तोकिएको छ । अब यो २७.५ रुपैयाँ हुनेछ ।

हाल कायम रहेको भाडादरलाई समायोजन गर्नका लागि यातायात व्यवस्था विभाग, प्राविधिक शाखाका निर्देशकको संयोजकत्वमा सम्बन्धित शाखाका इन्जिनियर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि सम्मिलित समिति गठन गरेको छ ।

समितिलाई दुई महिनाभित्रमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ । आगामी मंसिर २९ गतेसम्ममा सार्वजनिक यातायातको भाडा दर समायोजन गर्ने व्यवस्था विभागले गर्ने निर्णय गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ