arrow

भारतले फेरि हरायो पाकिस्तानलाई, अफगानिस्तान बाहिरियो 

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
rohit-shikhar.jpg

काठमाडौं । एसिया कप क्रिकेटमा भारतले लगातार दोस्रो पटक पाकिस्तानलाई हराएको छ । समूह चरणमा ८ विकेटले हराएको भारतले युएईमा जारी एसिया कपको सुपर फोरमा झन् शानदार तरिकाले ९ विकेटले हरायो । यो जितले भारत फाइनलमा पुगेको छ । 

शिखर धवन र कप्तान रोहित शर्माले शतक प्रहार गरेपछि २ सय ३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । धवन र शर्माले पहिलो विकेटका लागि २१० रनको साझेदारी गरेका थिए ।

धवनले १०० बलमा १६ चौका र २ छक्का प्रहार गर्दै ११४ रन बनाए । त्यस्तै रोहित शर्माले ११९ बलमा ४ छक्का र ७ चौका प्रहार गर्दै १११ रनमा नटआउट रहे । 

त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २३७ रन बनाएको थियो । शोएब मलिकले ९० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ७८ रन बनाए 

समुह ‘ए’ को विजेता भारत सुपर फोरमा लगातार दुई खेलमा जित निकाल्दै फाइनल यात्रा पक्का गरेको हो । भारतले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । 

 

सुपर फोरबाट अफगानिस्तान लगातार दोस्रो हारसहित बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसंग र दोस्रो खेलमा आइतबार राति बंगलादेशसंग ३ रनले पराजित हुँदै अफगानिस्तान भारतसंग खेल्नुअघि बाहिरिएको हो ।

अब फाइनलमा सुपर फोरमा एक एक खेल जितेका बंगलादेश र पाकिस्तान मध्य एक टिम जाने छन् । यी दुई बीचको खेल आगमी बुधबार हुने छ । विजेतानै फाइनल प्रवेश गर्ने छ भने पराजित हुने टोली सुपर फोरबाट घर फर्किने छ । 

भारतले सुपर फोरको अन्तिम खेलमा आगामी मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ