arrow

माल्दिभ्स राजनीतिमा भारत उदय, चीन पछारियो

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
maldives1.JPG

काठमाडौं । माल्दिभ्सको विपक्षी मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)का उम्मेदवार इब्राहिम मोहम्मद सोलिहले आइतबार भएको राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरेका छन् । उनी भारत निकट मानिन्छन् । निर्वाचनमा उनले चीन निकट मानिएका अब्दुल्लाह यामिनलाई पाराजित गरेको विपक्षीहरुले दाबी गरेका हुन् । 

समाचार संस्थाहरुले दाबी गरेअनुसार माल्दिभ्सको निर्वाचनमा सोलिहले समग्रमा खसेको ९२ प्रतिशतमा ५८.३ प्रतिशत मत हासिल गरेका हुन् । सोलिहले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको लागि आपिल गरेका छन् । 

विपक्षीहरुको दाबी पछि माल्दिभ्सका राष्ट्रपति यामिनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसअघि सत्ताधारी पार्टीले यो निर्वाचनमा हस्तक्षेप गर्दै नतिजा आफ्नो पक्षमा पार्नसक्ने भन्दै आशंका गरिएको थियो । यामिनको पहिलो कार्यकालमा विपक्षी राजनीतिक पार्टी, अदालत र मिडियामाथि कडा कारबाही गरिएको थियो । 

गत फेब्रुअरी महिनामा यामिनमाथि महाअभियोग लगाउने तयारी भइरहेको अवस्थामा राष्ट्रपतिले आपतकालीन अवस्था घोषणा गर्दै संविधानलाई निलम्बित गर्दै अन्योलपूर्ण अवस्थाको सिर्जना गरेका थिए । केही वरिष्ठ न्यायधीश र नेताहरुलाई पनि जेल हालिएको थियो । 

निर्वाचन हुनुभन्दा पहिला विपक्षीको प्रचार अभियान मुख्यालयमा छापा मारिएको थियो । यसले पनि माल्दिभ्सको निर्वाचन सही ढङ्गले अघि बढ्नेमा आशंका पैदा भएको थियो । 

धेरै चर्चित छैनन् इब्राहिम 

यामिनलाई हराएका इब्राहिम मोहम्मद सोलिह खासै धेरै चर्चामा रहेका नेता भने होइनन् । उनलाई सबै विपक्षी पार्टीहरुको सहयोग प्राप्त भएको थियो । सबै विपक्षी पार्टीहरु यामिनलाई सत्ताबाट हटाउने मनसायमा रहेको कारण यो निर्वाचनमा उनीहरुले विपक्षीलाई सहयोग गरेका हुन् । 

निर्वाचन प्रक्रियामा भारतको चासो 

माल्दिभ्सको निर्वाचनमा भारतले निकै चासो दिएको छ । पछिल्लो समय चीनको माल्दिभ्समा बढ्दो प्रभावले भारत चिन्तित रहेको देखिएको थियो । यस्तो अवस्थामा आफ्नो निकटका उम्मेदवारलाई जित दिलाउनका लागि भारतले धेरै चासो दिएको हो । यसअघि युरोपियन युनियन र अमेरिकाले पनि माल्दिभ्सको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ