सिभिल बैंकको तुलसीपुर शाखाका कर्मचारीको जेष्ट नागरिकलाई सहयोग
प्रकाशित २०७५ असोज ८ सोमबार
299
Shares
दाङ। सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरुले जेष्ट नागरिकको जीवन यापनमा सहज पार्न खाद्यान्न सहयोग गरेका छन्। सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित बृद्ध सेवा समितिमा पुगी दैनिक उपभोग्य बस्तुहरु हस्तान्तरण गरेका हुन्।
सभिल बैंक तुलसीपुर शाखाका अप्रेसन इञ्चार्ज यज्ञराज विनाडीले कर्मचारीहरुले आपसमा रकम संकलन गरि जेष्ट नागरिकलाई उक्त सहयोग प्रदान गरेको जानकारी दिए। बैंकका प्यूठानस्थित विजुवार शाखाका प्रमुख नविन डाँगी, सल्यान शाखाका नविन कडायतले व्यक्तिगत सहयोगमा र अन्य सबै रकम भने तुलसीपुर शाखाका कर्मचारीहरुबाट शंकलन गरिएको विनाडीले बताए।
रझेनामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै सिभिल बैंकका तुलसीपुर शाखाका कर्मचारी सुशिल गौतमले कर्मचारीहरुले खाजा खर्च कटाएर शंकलन गरेको दश हजार बढी रकमबाट जेष्ठ नागरिकलाई चामल, दाल, तेल, तयारी खाना प्रदान गरिएको बताएका थिए। ‘तपाँई हाम्रा आमा-बुवा समान जेष्ठ नागरिक जो ज्यूँदो इतिहास हुनुहुन्छ, उहाँहरुलाई सहयोग गर्नु हरेक युवाहरुको कतव्र्य हो।’गौतमले भने।
कर्यक्रमलाई सम्वोधन गर्दै बृद्ध सेवा समिति जेष्ट नागरिकका अध्यक्ष खुमानन्द अधिकारीले अशक्त अवस्थाका जेष्ठ नागरिकलाई सहयोग गरेकोमा सिभिल बैंकका कर्मचारीहरुलाई धन्यवाद दिएका थिए। ‘जेष्ठ नागरिकलाई सबैले माया र सम्मान व्यक्त गर्न आवश्यक छ।’ अधिकारीले भने। उनले रझेनास्थित बृद्धा आश्रममा केही नभएका र कोही नभएका जेष्ठ नागरिकलाई समितिले गाँस बाँसको व्यवस्था गर्दै आएको जानकारी दिए।