हलिउड र बलिउडका कलाकार आउने वर्ल्ड सेन्टर, विश्वभरका क्रिकेटर आउने खालको क्रिकेट खेलमैदान
प्रकाशित २०७५ असोज ८ सोमबार
544
Shares
काभ्रेपलाञ्चोक । प्रदेश नं ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा कला र साहित्य विधाको ‘वर्ल्ड सेन्टर’ निर्माण गर्ने योजना बनिसकेको बताएका छन् ।
बनेपा नगरपालिका–२ स्थित बासुकी डाँडालाई पर्यटकीय स्थल बनाउने विषयमा बनेपा नपा कार्यालयद्वारा आज आयोजित छलफल कार्यक्रममा आफ्नो मन्त्रालयबाट त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु ३० लाख छुट्याइएको र विस्तृत अध्ययनका लागि मात्रै दुई करोड छुट्याइने बताए ।
मन्त्री केशव स्थापितले भने, “स्थापितले बनेपालाई संसारमा स्थापित गराउँछ, हलिउड र बलिउड समेतका कलाकार आउने गरी कला–साहित्य विधाका लागि बनेपा वर्ल्ड सेन्टर हुनेछ ।” मन्त्री स्थापितले सेन्टरका लागि आवश्यक रकम व्यवस्था गरिदिने बताए ।
उनले संसारकै अध्ययन केन्द्र बनाउन बनेपा उपयुक्त रहेकाले आफ्नो कार्यकालमा विश्वकै लेखक र कलाकार ल्याउने भौतिक पूर्वाधार बनाउने दाबी गरे। उनले भने, “बनेपा निकै सम्भावनाको क्षेत्र हो, विश्वभरका क्रिकेटर आउने खालको क्रिकेट खेलमैदान यही ठाउँमा बनाइन्छ ।”
“मन्त्री स्थापितले आफ्ना प्रस्तावित योजनामा स्थानीय जनप्रतिनिधिको प्रतिबद्धताको आवश्यकता औँल्याउँदै विदेशी पर्यटक अब काठमाडौँ होइन, बनेपा भनेर आउने बनाउनुपर्छ”, भने । उनले बनेपामा बनाइने वर्ल्ड सेन्टरमा स्वास्थ्य बाटिकासमेत रहने बताए ।