विश्व पर्यटन दिवसकै दिन श्रमिकद्वारा आन्दोलनको घोषणा
प्रकाशित २०७५ असोज ११ बिहिबार
254
Shares
काठमाडौं। सरकारले ३९ औं विश्व पर्यटन दिव धुमधामका साथ मनाई मनाईरहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रेस विज्ञप्ति निकालेर यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा आन्दोलनको घोषणा गरेका हुन् ।
अन्नपूर्ण तथा मनाश्लु क्षेत्रमा होटल व्यवसायीको अगुवाईमा विभिन्न स्थानीय क्लब लगायत स्थानीय सरकार समेतको मिलेमतोमा सिन्डिकेट लागु गरी श्रमिकमाथि अन्याय पार्ने काम भएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुली र अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाद्धारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पर्यटन श्रमिकहरुमाथि भएको अन्यायलाई मुखदर्शक भएर हेरेर बस्न नसकिने भन्दै पर्यटन मजदुर संगठनहरुले उक्त चेतावनी दिएका हुन् ।
पर्यटन मजदुरहरुले केही होटल संचालकले केही ब्यक्ति राखेर अन्नपूर्ण र मनाश्लु पदमार्गमा श्रमिकले खाना खाएपनि वा नखाएपनि २०० रुपैंया लिएर श्रमिक माथि ठगी गर्ने र सिन्डिकेट लगाउने कार्य भईरहेको भन्दै संयुक्तरुपमा विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्यटन मजदुर संगठनहरुले यस विषयमा चासो दिई सिण्डिकेट लागु गर्न उदृत व्यवसायी एवं सरोकार पक्षलाई तुरुन्तै कारबाही गर्न समेत नेपाल सरकारसँग माग गरेका छन् ।
विज्ञप्तिमा वन तथा वातावरण मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबीच आपसी समन्वय गरी श्रमिक संगठनबीच वार्ता र सम्वादमार्फत यथासिघ्र समस्या समाधान गरियोस् भनी माग गरिएको छ । तत्काल समस्याको समाधान नभएमा १४ गतेदेखि आन्दोलन थाल्ने र असोज २२ गतेसम्ममा पनि माग पुरा नभएमा ट्रेकिङ पदमार्ग बन्द गर्ने र विदेशी एजेन्सिमा पत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन कार्यालय लगायत सरोकार क्षेत्रका कार्यालयमा धर्नाका साथै तालाबन्दी गरिदिने उनीहरुको चेतावनी रहेको छ ।