arrow

खेल कूटनीतिमा कमजोर नेपाल, छिमेकीको सिको किन गर्दैन ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ असोज १५ सोमबार
pm-office-and-council-of-ministries.jpeg

कुनै पनि मुलुकलाई चिनाउनका लागि खेलकुदको भूमिका निकै महत्वपूर्ण हुन्छ । विशेषगरी साना मुलुकहरुलाई खेलकूदको भूमिका निकै महत्वपूर्ण हुन जान्छ । त्यसैले साना मुलुकहरु आफूलाई विश्वमा चिनाउनका लागि खेलकुदको सहारा लिने गर्छन् । उदाहरणका लागि फुटबललाई लिन सकिन्छ । केही महिनाअघि सकिएको रुस विश्वकपमा क्रोएसिया फाइनलमा पुग्यो, जसकोकारण विश्वभर क्रोएसियाको चर्चा भयो । उसका इतिहास तथा सभ्यताहरु निकै नजिकबाट नियालियो । अब लामो समयसम्म पनि क्रोएसियालाई अहिलेको पुस्ताले याद गर्नेछन् । 

यसले खेलकुदको विस्तार गर्नु मुलुकलाई विश्वमा चिनाउने एक राम्रो माध्यम रहेको बुझ्न गाह्रो छैन । यद्यपि पछिल्लो समय खेलकूद खेलकूद मात्र नभई आफ्नो प्रभाव तथा क्षमता बढाउने माध्यम पनि बन्न पुगेको छ । सन् २०२२ को विश्वकपका लागि कतारले अनैकौं समस्या तथा विवादहरु पार गर्दै कुनै पनि हालतमा यो प्रतियोगिता सफल गर्न लाग्नुले पनि यो कुरालाई पुष्टि गरेको छ । त्यसका साथै चीन पनि सोही वर्ष हुने शीतकालीन ओलम्पिकको लागि अघि बढिरहेको छ । यसले पनि यी दुई मुलुकहरुका लागि खेलकूदको महत्व कुन अवस्थासम्म छ भन्ने कुरालाई दर्शाउँछ । 

खेलुकुद कूटनीतिको अभ्यास

खेलुकुदमा राजनीति वा कुटनीति हुन्न खेलकुद मात्र खेलकुद हो र यो सबै कुराबाट टाढा रहन्छ भन्ने मान्यता पुरानो भइसकेको छ। भारत- पाकिस्तानले धेरैपटक क्रिकेटलाई कूटनीति र राजनीतिको माध्यमबाट एक अर्कासँग नजिक हुने प्रयास गरेका छन्। 

भारत-पाकिस्तानले पछिल्लो समय सन् २००३-०४मा १४ वर्ष पछि टेष्ट क्रिकेट खेलेका थिए। यो श्रृखंलाले भारत-पाकिस्तानको नयाँ सम्बन्ध बढाउने आशा गरिएको थियो। सन् २००७-०८ नोभेम्बर पछि दुई राष्ट्रले एक अर्का विरुद्ध टेष्ट क्रिकेट खेलेका छैनन्।  पाकिस्तानमा पुर्व क्रिकेट कप्तान इमरान खानको सरकार आएको र उल्ले भारतलाई मित्रताका लागि हात बढाइसकेको अवस्थामा केही समय लाग्ला तर क्रिकेट नै त्यो कडी हुनेछ जल्ले भारत पाकिस्तानलाई एकपटक फेरि नजिक ल्याउने छ। 

चीन पनि खेलकुदको माध्यमबाट विश्वमा आफ्नो प्रभाव बलियो राख्ने मनसायमा देखिन्छ । २०२२ मा हुने शीतकालीन अोलम्पिकका लागि उल्लेख्य रकम खर्च गर्नु पनि उसको खेलकुद कूटनीतिको एक ज्वलन्त उदाहरण हो । साथै उसले एसियन गेम्सलगायतका अन्य महत्वपूर्ण प्रतियोगिताहरु गर्दै अाएको छ । 

विश्वका सबै मुलुकहरुको शक्ति आर्थिक तथा राजनीतिक हिसाबमा समान किसिमको पक्कै पनि छैन । आर्थिक तथा राजनीतिकरुपले शक्तिशाली कहलिएका मुलुकहरुको लागि आफ्नो प्रभाव विश्वव्यापीरुपमा विस्तार गर्नु कुनै नौलो कुरा होइन तर साना मुलुकहरुका लागि भने विश्वमा आफूलाई चिनाउने मौका पनि उनीहरुलाई हुनेछ । जसमा नेपालले पनि त्यो अवसरको सदुपयोग गर्न सक्छ । खेलकुदको कुरा गर्दा नेपालको क्रिकेटले ठुला उपलब्धिहरु हासिल गरिरहेको छ । एकदिवसीय मान्यता पाएको मुलुकमा क्रिकेट खेल्नका लागि अन्तर्राष्ट्रिय स्तरको स्टेडियम छैन भन्दा बाहिरका मानिसहरुलाई पत्याउन गाह्रो हुन्छ होला । 

उदासीन सरकार 

हाम्रो खेलकुद प्रति सरकार उदासीन छ । क्रिकेटमा त्यती राम्रो प्रदर्शनका बाबजुद खेलकुदमा अर्थमन्त्रीले छुट्याएको बजेट हेर्दा कुनै खेल प्रेमीले बोल्न मन गर्दैन। नेपाली क्रिकेटर सन्दिप लामिछाने अहिले विश्वभरिका क्रिकेट खेल्ने देशहरुले चिन्ने नाम भइसकेको छ।  यसरी उनले देशको नाम चिनाउँदा मानिसहरुलाई नेपाल घुम्नका लागि आकर्षित गर्न सकिन्छ जुन आर्थिकरुपमा फलदायी नै हुन्छ । हामी जस्तो पर्यटन प्रमुख आकर्षण भएको देशमा खेलकुदले पर्यटनमा राम्रो टेवा दिनेमा कुनै शंका छैन। 

त्यतिमात्र पनि होइन, क्रिकेटलाई नियमन गर्ने निकाय आफैं प्रतिबन्धमा छ । यसले क्रिकेटमा नेपाल सरकारले चासो नरहेको स्पष्ट देखिन्छ । दर्शकहरुको साथ र खेलाडीहरुको अत्यधिक मिहिनेतको कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको हो । यो धेरैले बुझेको कुरा हो । यसले नेपाललाई विश्वमा चिनाउने र आफ्नो प्रभाव विस्तार गर्ने मौका पनि गुमाइरहेको छ । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेपाल पनि देश हो ? भनेर आश्चर्य व्यक्त गरेका थिए । यसले नेपाललाई विश्वका सीमित मानिसहरुले मात्र चिन्छन् भन्ने कुरा स्पष्ट गराएको छ । 

खेलकुदमा किन जोड दिने ?

नेपालमाथि भारत वा अन्य कुनै मुलुकले थिचोमिचो गर्न खोजेको खण्डमा अन्तर्राष्ट्रिय समुदायको भूमिका निकै महत्वपूर्ण हुन्छ तर त्यसका लागि अन्तर्राष्ट्रिय समुदायमा नेपाल परिचित हुनु पनि निकै महत्वपूर्ण हुन्छ । त्यसका लागि खेलकुदको सहारा लिनु सबैभन्दा राम्रो उपाय हो । यसले मुलुकको लागि अन्य मुलुकसँग हुने सम्झौतामा पनि आफ्नो पक्ष बलियो राख्नका लागि सहयोग पुग्छ । नेपालमाथि भारतले थिचोमिचो गर्‍यो भन्ने गुनासो धेरै नेपालीले गर्ने गरेको गुनासो हो । यसको उत्तर एउटै आउँछ कि हामी कमजोर भएर त्यस्तो भएको हो । त्यसका लागि हामी भारतसँग वा हतियारको युद्धले जित्न सक्दैनौं तर खेलकुदको माध्यमबाट भने पक्कै पनि जित्न सक्छौं । नेपालले भारतलाई यदि क्रिकेटमा हराउने हो भने त्यसले नेपालको कूटनीतिक हिसाबमा भने ठुलो अर्थ राख्छ । यसबाट नेपालले भारतसँग गर्ने सम्झौतामा पनि शिर उच्च राखेर वार्ता गर्नसक्छ । 

नेपाललाई क्रिकेटमा भारतलाई हराउने अवस्थासम्म पुर्‍याउनका लागि धेरै लामो यात्रा गर्नु पनि पर्दैन । भर्खरै सकिएको एसियाकपमा अफगानिस्तानले भारतलाई बराबरीमा रोकेको छ । अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालभन्दा १७ वर्षपछि उदाएको मुलुक हो । यसले पनि थोरै प्रयास गरेको खण्डमा नेपालले पनि कुनै दिन भारतलाई क्रिकेटमा चुनौती दिनसक्छ । यसले खेल कूटनीतिको प्रयोग गर्दै भारत तथा अन्य मुलुकहरुसँगको सम्झौताका लागि नेपालले आफ्नो बलियो पक्ष राखेर कुरा गर्नसक्छ । 

खेल पर्यटन

पर्यटनसँग खेलकूदको भूमिका निकै महत्वपूर्ण हुन्छ । खेलकुदको विस्तार गर्दै आफूलाई स्थापित गराउन सक्ने हो भने यूनाइटेड अरब इमिरेट्समा हुने गरेका केही क्रिकेटका प्रतियोगिता नेपालमा गराउन सकिन्छ । नेपालमा एउटा राम्रो प्रतियोगिता आयोजना हुने हो भने त्यसबाट पनि नेपाललाई उल्लेख्य फाइदा हुनसक्छ । यद्यपि त्यसका लागि आफ्नो खेल मैदानदेखि व्यवस्थापन पनि चुस्त हुनु जरुरी छ । 

त्यसका साथै खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई चिनाउँदा नेपालको प्रचार पनि राम्रो हुन्छ र यसले विदेशी पर्यटकहरुलाई नेपालमा भित्र्याउनका लागि सहयोग गर्छ । आर्थिक कुरालाई जति लम्बाउन र योजनाबद्ध तरिकाले खेलकुदमा लगानी गरे यसले दिने प्रतिफल अरु व्यवसाय भन्दा पक्कै राम्रो हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ