असोज १६ देखि २२ गतेसम्म नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने
प्रकाशित २०७५ असोज १६ मंगलबार
186
Shares
काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।
चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले राति ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।
डिभिजन प्रमुख देवकुमार तामाङले मंगलबारदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए ।
“निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,” उनले भने । उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो ।
डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो ।