भारत विहारका दिकेश 'नेपाली ब्राण्ड' बेच्छन्, मुस्ताङको स्याउ
यमुना भण्डारी,
प्रकाशित २०७५ असोज १७ बुधबार
236
Shares
काठमाडौँ । नेपालको हकमा अहिले १८ वर्षको उमेर बालबालिका नै मानिन्छ । विवाहको उमेर नै २० वर्ष कायम भएको छ । तर, १४ वर्षकै उमेरबाट ठेला व्यापारी बनेका दिकेशकुमार गुप्ता अहिले घर खर्च धान्ने भइसकेका छन् । १४ वर्षीय उमेर विद्यालय जाने उमेर हो । नेपालमा अहिले सरकारले कुनै पनि बालबालिका विद्यालय बाहिर नराख्ने प्रतिवद्धता जनाएको छ ।
छिमेकी भारतको विहारबाट आएका हुन् दिकेश ।
भारतमा बालकको हकमा २१ वर्ष र बालिकाको हकमा १८ वर्ष नपुगि विवाह गर्न पाइँदैन । भारत जनसंख्या, भूगोल र आम्दानी लगायत हरेक हिसाबले कयौँ गुणा ठूलो छ । तर, दिकेश पढ्ने उमेरमा नेपाल आएर ठेलामा तरकारी र फलफूल बेचिरहेका छन् ।
भारतमा बालश्रमको कानून कडै बनाइएको भनिन्छ । तर, अधिक जनसंख्या र गरिबीका कारण दिकेशभन्दा कम उमेरका बालबालिकालाई काम गर्न बाध्य बनाइरहेको बताइन्छ । दिकेश भन्छन्, ‘मेरो घर बिहार हो । रक्सौ हुँदै जानुपर्छ ।’ विहारबाट आएर के भो त, उनी ब्राण्ड भने नेपाली नै बेच्छन् । मुस्ताङको स्याउ । तरकारीपछि ठेलामा फलफूल बेच्न थालेको ८ वर्ष भयो, उनलाई । ८ कक्षामै पढाई रोकेर ठेला यापार थालेका उनी अहिले २२ वर्ष पुगे । तर, उनको नामका अगाडि ८ वर्ष पूराना व्यापारी थपिएको छ ।
१४ वर्षमै तरकारी तथा फलफूलको व्यापारमा लाग्न उनलाई अफ्ठयारो भने भएन । कारण बुबाको पछि लागेर उनी काठमाडौं आएका हुन् । उनका बुबा पहिल्यैदेखि तरकारी बेच्थे । बुबाको कमाईले घर खर्च धानिएन । उनी पनि सँगै पछि लागेर काठमाडौं छिरे । भाइहरु पनि बेलाबेलामा आउँछन् ।
उनी भन्छन्, ‘घर खर्च चलाउनकै लागि आएको हो । आठ जनाको परिवार छ । विहारबाट काठमाडौं आउन सजिलो लाग्यो । नजिक पनि छ । बुबा यतै भएकाले पनि यतै आउन मन लाग्यो ।’ उनले अरुकाम गर्न खोजे तर, अनुभव भएन । यही काम गर्न थाले । उनी भन्छन्, ‘जानेको काम यही हो ।’
विहान ६ बजे बल्खु जानु, २ घण्टामा सामान ल्याउनु र बानेश्वरस्थित पाठशाला अघि ठेला राख्नु, दिनभरी ठेला कुर्नु, व्यापार गर्नु र बेलुकातिर बानेश्वर चोकमा फलफूल बेच्नु, उनको दैनिकी हो ।
चोकमा २ घण्टा मात्रै हो बस्ने, उनी भन्छन्, ‘बेलुकी ६ देखि ८ बजेसम्म मात्रै । खासै कमाई हुँदैन ।’ पहिले राम्रै हुन्थ्यो कमाई । ४–५ बजेनै चोकमा बस्न पाइन्थ्यो । अहिले दिउँसो बस्न पाइँदैन । व्यापार सुकेको छ । पहिले तरकारी बेच्थे उनी । घाटा लागेपछि फलफूल बेच्न थाले ।
४० हजारको फलफूल ल्याउँदा चार–पाँच दिन बेच्न पुग्छ । फाइदाको कुरा गर्दा उनी हाँस्छन्, फाइदाको खासै टुंगो हुँदैन । त्यही ४–५ हजार रहन्छ । किलोमा कति फाइदा हुन्छ ? ‘१५ देखि २० सम्म रुपैयाँ फाइदा हुन्छ’ जवाफमा उनले भने । कहिलेकाँही उनलाई यो ठेला व्यापार पट्यार लाग्छ । किन गरिएछ जस्तो अनुभव गर्छन्, उनी बारम्बार ।
थोरै दाग लागिहाले किनेको मूल्य पनि उठ्दैन । यो कुरालाई उनलाई सताइरहन्छ । कुनै समय पाँच हजार घाटा लाग्दा निकै रोएको थिएँ म, उनी भन्छन् । तरकारीमा व्यहोरको घाटा पनि बारम्बार सम्झिन्छन्, उनी ।