arrow

प्लास्टिकलाई प्रदर्शनीमार्फत किन चिनाउन खाेजियाे?

(कुराकानीसहित)

logo
प्रकाशित २०७५ असोज २० शनिबार
plastik.JPG

काठमाडौंको भृकुटीमण्डपमा प्लास्टिक प्रदर्शनी जारी छ । प्लास्ट नेपाल फाउन्डेसनले आयोजना गरेको याे प्रदर्शनी सोमबारसम्म चल्नेछ । यो प्रदर्शनीको आयोजना, उद्देश्य र यो प्रदर्शनीले गर्न खोजेका काम अथवा यो प्रदर्शनीले दिन खोजेको सन्देशका बारेमा नेपाल प्लास्ट नेपाल फाउन्डेसनका अध्यक्ष शरदकुमार टिवडेवालसँग हामीले कुरा गरेका छाैँ ।

० प्लास्टिकलाई किन चिन्ने ?
– हामीले प्लास्टिक चिनौं भन्ने थिम राखेका छौं । प्लास्टिकलाई नचिनेर हामी फोहोर भन्छौं । धेरै वर्षअघिदेखि प्लास्टिकले प्रदूषण गर्‍यो भन्ने कुरा आइरहेको छ । तर हाम्रो दैनिक दिनचार्यमा प्लास्टिकका सामान प्रयोग हुन्छ । त्यसले फोहोर पारेको होइन । प्लास्टिकको गुण के हो, किन यसको प्रयोग हुन्छ, प्लास्टिक कुन कुन किसिमको हुन्छ र प्लास्टिकले जुन किसिमको फोहोर उत्पादन गर्छ, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ र त्यो रोक्ने उपाय के हुन्छ भन्ने कुरा हामी यो प्रदर्शनीमा जानकारी दिन खोजिरहेका छौं ।

० प्लास्टिककाे गुणका आधारमा भिन्नता हुन्छन् ?
– गुणको हिसाबले होइन, प्लास्टिकको उपयोगको हिसाबले भिन्नता हुन्छ । जस्तो पाइपको कुरा गरौं, घर निर्माण गर्दा पिभिसीका पाइपको प्रयोग हुन्छ । त्यसबाट कुनै फोहोरको समस्या आउँदैन, किनभने एकपटक जडान गरिसकेपछि घर नभत्काएसम्म त्यो पाइप टिक्छ । प्लास्टिकमा खिया लाग्दैन, चुहिएर जाँदैन । त्यसले कुनै प्रदूषण गरेको छैन, अथवा देखिदैन । तर एकपटक प्रयोग हुने प्लास्टिक हामीले जथाभावी फाल्यौं भने त्यो कतै गएर बस्छ । त्यसपछि त्यो फोहोर हुन्छ । सिंगल युज प्लास्टिक हलुका हुन्छ, कसैले संकलन गर्दैन, त्यसैले फोहोरमा गएर रोकिन्छ । त्यसैले प्लास्टिक उपयोगका आधारमा भिन्न हुन्छ ।

० यही औद्योगिक मेलामा प्लास्टिक के हाे भनेर चिनाउनु हुन्छ ?
– हो, औद्योगिक मेलामा धेरै अवलोकनकर्ताहरु आउनुहुन्छ । यो मेलामा पार्टी र ग्राहकहरु आउनु हुन्छ । हामीले पबेलियन बनाएका छौं, त्यहाँ प्लास्टिक चिनौं भन्ने कुरा देखाउँछौं । प्लास्टिक कसरी बन्यो भन्ने प्लास्टिकको इतिहास हामी देखाइराख्छौं । प्लास्टिकका विभिन्न उपयोग देखाउँछौं । र, त्यो उपयोगबाट कस्तो फोहोर निस्कन्छ, त्यो फोहोरको पुनप्रयोग कसरी हुनसक्छ भन्ने कुरा मेलाभरि देखाइराख्छौं । प्लास्टिकको प्रयोग कसरी हामी कम गर्न सक्छौं भन्ने जनचेतना पनि फैलाउँछौं । पुनःप्रयोगको उत्पादन केमा गर्न सकिन्छ भन्ने कुरा पनि हामी त्यो पबेलियनमा देखाउँछौं ।

० अनि प्लास्टिकका झोलाका विकल्प खोज्नुपर्छ भन्नेहरुलाई के भन्नुहुन्छ ?
– एक हदसम्म हामी प्लास्टिक उद्यमीहरु यो कुरामा हामी सहमत पनि छौं । प्लास्टिकका झोला जुन २० माइक्रोनको भन्छौं, त्यसको उत्पादन बन्द गर्नुपर्छ । अथवा यसको उत्पादन कम गरेर निर्धारित स्थानमा मात्र प्रयोग गर्नुपर्छ । किनभने हाम्रो देशमो त्यस्ता फोहोरको व्यवस्थापन गर्ने सुविधा छैन, नीति छैन । जथाभावी हामी फोहोर फाल्छौं, नगरपाकालिका आउँछ, मन लागे उठाउँछ, हडताल भयो भने फोहोरै उठ्दैन । प्राइभेट पार्टीले फोहोर उठाउँछ, तिनीहरुले एकै ठाउँमा लगेर एक ठाउँमा डम गर्दिन्छ । २० माइक्रोनको प्लास्टिक पुनप्रयोग हुनसक्दैन । केही मोटो भइदियो भने त्यो संकलन गर्न सजिलो हुन्छ । त्यो उद्योगले किन्छ ।

० पुनप्रयोग भयो भने प्लास्टिक फोहोर कम हुन्छ ?
– निश्चय नै कम हुन्छ । रिसाइकिलिङ नभएकै कारण हामीले जथाभावी प्लास्टिकको फोहोर देख्छौं । झोला मात्र होइन, अरु प्लास्टिक पनि फोहोर हुन्छ । जस्तो दुधको थैली । यदि यसलाई प्रतिबन्ध लगाउने हो भने यसको विकल्प के ? पहिला धातु युग थियो, अहिले प्लास्टिक युग हो । धातुको स्थान प्लास्टीले लिएजस्तै नयाँ अविष्कार नहुञ्जेल हामीसँग अर्को विकल्प छैन । नयाँ नआएसम्म हामीले प्लास्टिक कसरी प्रयोग गर्ने भन्ने विषयमा सोच्नुपर्छ । फोहोर व्यवस्थापनको नीति आइदियो भने फोहोर प्लास्टिकको पनि मूल्य आउँछ । रिसाइकलको प्रविधि विकास भयो भने औद्योगिकरण र रोजगारी बढ्छ । जसबाट आर्थिक लाभ लिन सकिन्छ । रिसाइकल कुरा नयाँ होइन, विश्वका अन्य देशमा जस्तै ठूला उद्योगले रिसाइकल उद्योग पनि राख्नुपर्ने नीति निर्माण गर्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ