काठमाडौं । बढ्दो महिला हिंसा तथा यौन दुर्व्यवहारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार राजधानीमा जनचेतनामूलक म्याराथनको आयोजना गरिएको छ ।
ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)द्वारा आयोजित सो म्याराथनमा नेपालका विभिन्न कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अलावा नेपालमै ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमअन्तर्गत अध्ययनरत अष्ट्रेलिया, स्वीटजरल्यान्ड, डेनमार्क र भियतनामका विद्यार्थीहरूको समेत सहभागिता थियो ।
चार किलोमिटर लामो सो दौडमा पुरुषतर्फ लियो क्लबका प्रवीण श्रेष्ठ प्रथम, एफके नर्वे/गेट कलेजका भीमबहादुर गुरुङ द्वितीय तथा गेट कलेजकै प्रतीकरत्न तुलाधार तृतीय भए ।
यसैगरी, महिलातर्फ निम्स कलेजकी सुष्मीता बराल र गीता भन्डारी प्रथम र द्वितीय भए भने स्वीस नेपाल स्टुडेन्ज एक्सचेन्ज प्रोगाम/गेट कलेजकी बुसर अन्जा तृतीय भइन ।
प्रतियोगिताका विजेताहरूलाई गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
महिला तथा बालबालिकाहरूले आफूविरुद्ध हुने कुनै पनि हिंसा वा दुर्व्यवहारका घटानाविरुद्ध तत्कालै आवाज उठाउन सकुन् भन्ने मूल उद्देश्यसहित म्याराथुन आयोजना गरिएको आयोजक गेट कलेजका प्रमुख कार्यकारी अधिकृत लकाईले बताए ।
“सामाजिक रूपमा छोरीहरूलाई सशक्तीकरण गर्नमात्र होइन, उनीहरूलाई आफूविरुद्ध हुने हिंसा र दुर्व्यवहारविरूद्ध सशक्त रूपमा प्रतिरोध गर्न पनि सक्षम तुल्याइनु पर्छ,” लकाईंले भने। प्रतियोगितामा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।