ट्रम्पको करवृद्धिका कारण कर्मचारी कटौती गर्दै फोर्ड
प्रकाशित २०७५ असोज २१ आइतबार
225
Shares
एजेन्सी। अमेरिकी कार निर्माता कम्पनी फोर्डले गत जुलाई महिनामा घोषणा गरेअनुसारको आफ्नो संरचनामा उल्लेख्य कटौती गर्ने भएको छ। उसले विश्वव्यापीरुपमा आफ्ना कर्मचारीहरु कटौती गरिने बताएको हो।
कम्पनीले आफ्नो योजनाको अवधि गोप्य राख्दै यस किसिमको विवरण सार्वजनिक गरेको हो। कम्पनीले आफूहरु विश्वव्यापीरुपमा कर्मचारीहरुको तलबको विश्लेषण गर्ने क्रममा रहेको र यसले कम्पनीको आर्थिक सुधारको लागि महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिएको छ।
गत जुलाई महिनामा फोर्डले आफ्नो आर्थिक क्षेत्रमा ११ अर्ब डलरबराबरको बचतका लागि यस किसिमको योजना ल्याउन लागेको बताएको थियो। आगामी तीनदेखि पाँच वर्षको अवधिमा कम्पनीले यस किसिमको रोजगारीमा कटौतीको योजना ल्याएको हो।
कम्पनीले आफ्नो यो योजना कहिले सकिने हो भन्ने विषयमा भने उल्लेख गरेको छैन। सेप्टेम्बर महिनामा कम्पनीले आफ्नो नाफामा एक अर्ब डलरको गिरावट आएको विवरण सार्वजनिक गरेको थियो। कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिको योजनाको कारण आफ्नो नाफामा उल्लेख्य गिरावट आएको बताएको हो।